तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटनाका सम्बन्धमा गठित समितिको प्रतिवेदन समयमै सार्वजनिक गर्न माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले माघ १ गते भएको विमान दुर्घटनाको सत्यतथ्य, निष्पक्ष छानविन र गठित समितिले समयमै प्रतिवेदन बुझाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले माघ १ गते काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै दुर्घटनाको समय सीमाभित्र प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो  । 

सांसद अनिता देवकोटाले कुरा गर्नुभन्दा पनि परिणाममुखी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो  । राष्ट्रियसभाको बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले नेपाली आकाश असुरक्षित हुँदै गएकोले दुर्घटना हुन नदिनका लागि सरकारले गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

अर्का सांसद इन्दु कडरियाले माघ १ गते भएको विमान दुर्घटना नदोहोर्‍याउनका लागि सरकार संवेदनशील हुन जरुरी रहेको र हवाई यात्रालाई सुरक्षित तथा भरपर्दो बनाउनका लागि जहाजको क्षमता परीक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद खिमलाल देवकोटाले मुलुकमा गरिब र बेरोजगारीको फाइदा उठाउँदै प्रलोभन दिँदै धर्म परिवर्तन भइरहेकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा शून्य समयमा सांसदहरु दिलकुमारी रावल थापा पार्वती, प्रकाश पन्त, सिंहबहादुर विश्वकर्मा लगायतकाले बोल्नुभएको थियो । 

राष्ट्रियसभाको बैठक अहिले जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button