तपाईँ सुन्दै हुनुहुन्छः

वीरेन्द्रनगरमा ६ अर्ब लागतमा भेरीबाट खानेपानी ल्याउने तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ६ अर्ब लागतमा लिफ्ट प्रविधिमार्फत पानी ल्याउन लागिएको छ ।

सङ्घीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीमा बन्न लागेको भेरी लिफ्टिङ्ग खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ अन्तिम चरणमा पुगेसँगै ठेक्का प्रक्रियामा जान लागेको हो । 

खानेपानी तथा ढल व्यवस्थापन विभाग, मुख्य लगानीकर्ता विश्व बैङ्क, परामर्शदाता कम्पनी र वीरेन्द्रनगर नगरपालिकासहितको विज्ञ टोलीले आयोजना स्थलको स्थलगत अनुगमन गरेसँगै निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हो ।

प्रदेशकै ठुलो नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्ति पुर्‍याउने लक्ष्यका साथ निर्माण गर्न लागिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि विज्ञहरूबाट पुनः परामर्श लिने पक्रिया करिब करिब अन्तिम चरणमा पुगेको छ ।

ठूलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने हेतुले पुनः परामर्शको लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले विज्ञहरुको राय मागेको थियो । 

दुई खण्डमा गरी ६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तन बाहेक अन्य डिजाइन ठिक भएसँगै आयोजना कार्यान्वयनको चरणमा जान लागेको हो । जसका लागि बजेटको सुनिश्चितता समेत भई सकेको छ । 

संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा आर्थिक वर्ष २०७९÷८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा एकसय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याइने छ । 

जसअनुसार सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनुपर्ने हुन्छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९÷०८० मा ५ करोड रुपैयाँ विनियोजन गरेको छ भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँच मार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ । 

दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाको पहिलो चरणका कामहरूमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ मिटर गहिरा २ वटा इन्टेक निर्माण गरिनेछ । 

त्यस पश्चात् इन्टेकदेखि करिब चार सय मिटरको दुरीमा पानी प्रशोधन प्रणाली निर्माण, पाइप लाइन विस्तारसँगै अमृत डाँडामा रिजर्भ ट्याङ्की निर्माण हुनेछन् । यस्तै पहिलो चरणकै काममा ट्याङ्कीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछ । 

यस्तै दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३÷३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिने छ । त्यसपश्चात् करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ  । 

५५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ । अमृत डाँडामा बनाइने ट्याङ्की ३० लाख क्षमताका ३ वटा रिजर्भ ट्याङ्की निर्माण हुनेछ । लिफ्टिङ्गका लागि २ मेगावाट विद्युत् आवश्यक पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button