तपाईँ सुन्दै हुनुहुन्छः

टङ्क प्रसाद आचार्यको जन्म घरलाई संग्राहलय बनाइने

नवलपरासी । नेपालका पुराना प्रजातन्त्रवादी नेता,नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री स्व.टङ्क प्रसाद आचार्यको जन्मघरलाई लुम्बिनी प्रदेश सरकारको पहलमा सङ्ग्रहालय बनाईने भएको छ।

प्रदेश सरकारको ५०लाख लागतमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको उक्त घरलाई संग्राहालय बनाउन थालिएको हो।

२२ वर्षको उमेरमा नेपाल प्रजा परिषद्को स्थापना गरेर वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा छरेपछि पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य पक्राउ पुर्नुभएको थियो । वि.सं. २००७ सालको क्रान्तिको आधार भूमि तयार पार्न उहाँको महत्त्वपूर्ण भूमिका थियो । आचार्यको प्रधानमन्त्रीकाल बाटै सहिद दिवस मनाउने, प्रथम पञ्चवर्षीय योजनाको थालनी, नेपाल राष्ट्र बैङ्कको स्थापना र देशभर नेपाली मुद्राको प्रचलन, निजामती सेवा नियमावली लागू लगायतका महत्त्वपूर्ण कामको थालनी भएको थियो ।

आचार्यलाई जिउँदो सहिदको उपनामले समेत चिनिने गरिन्छ । उक्त जीर्ण घरको संरक्षण र काम गर्न स्थानीय मुकेश रन्जितकारको अध्यक्षतामा समिति बनाइएको छ । लामो समयसम्म उहाँको इतिहास गुमनाम जस्तै बनेकोमा चिन्तित रहेका स्थानीयहरू स्व आचार्यका घरलाई संग्राहलय बनाइने भएपछि हर्षित छन् ।

घर निकै जीर्ण भएकाले जीर्णोद्धार गर्न असम्भव देखिएकाले उस्तै नयाँ घर बनाएर संग्राहलयमा परिणत गरिने टङ्क प्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

संरक्षण नहुँदा जीर्ण बन्दै गएको उक्त घर भूकम्पले थप क्षति गरेपछि स्थानीयले समेत संरक्षण गर्न माग गर्दै आइरहेका थिए । 

संग्राहलयका लागि दुई वर्ष अगाडी पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको भएपनि रामग्राम नगरपालिकाको कारण काम हुन नसेपछि आफु आर्थिक मामिला मन्त्री हुँदा फेरि बजेट विनियोजन गरेको चौधरीले बताउनुभयो । 

३० वर्षदेखि घरको संरक्षण गर्ने भनिए पनि विविध कारणले काम हुन नसकेको बताउँदै चौधरीले आचार्यको घर परासीको गौरव भएको बताउनुभयो । प्रदेश सभा सदस्य वैजनाथ कलवारले पुरातत्त्व विभागसँग पनि समन्वय गरेर काम अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आचार्यको घरको जीर्णोद्धार गर्न अत्यन्तै जरुरी भएको बताउँदै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गरिने बताउनुभयो ।

पूर्व मन्त्री चौधरी, प्रदेश सभा सदस्य कलवारसहित जनप्रतिनिधि र प्रदेश सरकारको टोलीले परासीमा मालपोत कार्यालयको छेउमै रहेको पूर्व प्रधानमन्त्री आचार्यको घरको निरीक्षण गर्नुभएको हो  । घरलाई कसरी जीर्णोद्धार गर्ने भन्ने विषयमा सरोकारवाला बिच छलफल गरिएको प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालयका निमित्त प्रमुख अष्टराज गौतमले जानकारी दिनुभयो । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उक्त घरको स्वामित्व नगरपालिकाले लिन तयार रहेको बताउनुभयो । परासीको गहनाको रुपमा रहेको उक्त घरलाई संग्राहालय बनाएर संरक्षण गर्न नगरपालिका तयार रहेको बताउँदै नगर प्रमुख यादवले त्यसका लागी आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button