माघी महोत्सव शनिबारदेखि टुँडिखेलमा
काठमाडौँ । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ । थारू कल्याण कारिणी सभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडिखेलमा महोत्सव मनाउन लागिएको हो ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी, र्याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।
महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिनुभयो ।
यस पटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदै छ । ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारु, केराको तरुवा, सक्खर खण्ड, खरिया सुँगुर/बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन् ।
त्यसैगरी माछा, घोङ्घी, गङ्गटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटी लगायत परिकार पनि राखिने भएको छ ।
महोत्सवमा थरुहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ । मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी छ ।
पुस ३० गते बिहान कोटेश्वरबाट मोटरसाइकल र्याली गरेर भृकुटीमण्डपमा समापन गर्ने कार्यक्रम छ । माघ १ गते बिहान १० बजे थारू सांस्कृतिक, भेषभूषा, बाजागाजा, सङ्घसंस्थाको तुल ब्यानरसहित वसन्तपुरमा जम्मा भई झाँकी र्यालीले रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्