तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीतिक इच्छाशक्ति कमजोर हुँदा भ्रष्टाचार नियन्त्रण कठिन’

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक इच्छाशक्ति कमजोर हुँदा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन भएको बताउनुभएको छ ।

रामकुमार आचार्यद्वारा लेखिएको ‘नेपालमा भ्रष्टाचार कारण र निवारण’ पुस्तकको विमोचनका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले राजनीतिक इच्छाशक्ति कमजोर भएका कारण भ्रष्टाचार नियन्त्रणका लागि बनेका निकायहरूले काम गर्न नसकेको बताउनुभयो ।

अध्यक्ष नेपालले सदाचारलाई प्रोत्साहन गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेपालमा विभिन्न कानुनहरू बनेको र विशेष जिम्मेवारी तोकिएका निकाय सक्रिय रहे पनि जनताको अपेक्षा अनुरुप नतिजा दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता युवराज ज्ञवालीले भ्रष्टाचारका घटनामा राजनीतिक नेतृत्वको संरक्षण र संलग्नतामा हुने गरेको उल्लेख गर्नुहुँदै यसलाई समयमै नियन्त्रण गर्न नसके अहिलेको राज्य प्रणालीप्रति जनताको विश्वास टुट्ने र लोकतन्त्र माथि नै खतरा आउन सक्ने बताउनुभयो ।

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचार नियन्त्रण गर्न नेपालमा प्रचलित सबैजसो कानुनहरूको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसदहरु रेखा शर्मा, मनिस झा, अर्थविद् स्वर्णिम वाग्ले लगायतका वक्ताहरूले नेपालको आर्थिक विकासको प्रमुख बाधक भ्रष्टाचार भएकोले यसको नियन्त्रणका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button