तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प सुरक्षा दिवस : राष्ट्रिय कार्यक्रमको कार्यतालिका सार्वजनिक

काठमाडौँ । २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा प्रचारप्रसार उपसमितिले राष्ट्रिय कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको कार्यालय काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा माघ २ गते मनाइने २५ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रिय कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको हो ।

माघ २ गते भूकम्प सुरक्षासम्बन्धी र्‍याली प्रदर्शन गर्ने, माघ ३ गते भूकम्प स्मृति सभा तथा भूकम्प पूर्वतयारी सचेतना सभा गर्ने, माघ ४ गते भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनर्निमाणसम्बन्धी सामूहिक प्रतिबद्धताका लागि हातेमालो कार्यक्रम गर्ने र माघ ५ गते भूकम्प जोखिम न्यूनीकरणमा नगर बासीको सामूहिक प्रतिबद्धता लगायतको कार्यक्रम सार्वजनिक गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक तथा भूकम्प सुरक्षा दिवसका प्रचार प्रसार उपसमितिको संयोजक सुरेन्द्र मोहन श्रेष्ठले “भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार” भन्ने मूल नाराका साथ भव्यताका साथ दिवस मनाउने बताउनुभयो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक तथा भूकम्प सुरक्षा दिवसका सदस्य सचिव सूर्यनारायण श्रेष्ठले कार्यतालिका सार्वजनिक गर्नुभएको थियो ।

काठमाडौँको कमलपोखरीमा माघ २ गते आयोजना हुने “भूकम्प सुरक्षा प्रदर्शनी” कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button