निकुञ्जसँग जोडिएका बस्तीमा जङ्गली जनावरको आतङ्क
बीरगंज । विगत केही दिनयता बारा पर्साको राष्ट्रिय निकुञ्जसँग जोडिएको ग्रामीण क्षेत्रमा बाघ तथा हात्तीको आतङ्क बढ्दै गएपछि सर्वसाधारण त्रसित भएका छन् ।
पर्साको ठोरी तथा ठोरीसँगै जोडिएको चितवनको माडी हनुमान झुलामा जङ्गली हात्तीको आतङ्कको कारण सर्वसाधारणले हैरानी खपिरहेका छन् ।
साँझ पर्न नपाउँदै चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पस्ने हात्तीले हनुमान झुला तथा ठोरी गाउँपालिकाको वडा नम्बर १ तथा २ मा घर भत्काउने, अन्नबाली खाइदिने, जस्ता उपद्रो मचाउन थालेपछि सर्वसाधारण आतङ्कित भएको ठोरी गाउँपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष राम प्रकाश कुँवरले बताउनुभयो ।
त्यसैगरी, निजगढ तथा अमलेखगंज आसपासको जङ्गल क्षेत्रको गाउँमा दिनदहाडै बाघ पस्न थालेपछि स्थानीय जनजीवन आतङ्कित भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जसित जोडिएको निजगढ नगरपालिकाको वडा १ तथा २ सिंगौल गाउँ र वडा ११, १२ तथा १३ को रतनपुरी, लाल, कुलिया, डम्बरपुर लगायतका ग्रामीण बस्तीमा केही समय यतादेखि बाघले चौपायाहरू खाइदिँदा स्थानीयमा त्रास फैलिएको निजगढ नगरपालिका वडा १३ का वडाध्यक्ष सुर्यबहादुर घलानले बताउनुभयो ।
दुई महिनाअघि निजगढ–काठमाडौँ द्रुत मार्ग निर्माणमा खटिएका नेपाली सेनाको ब्यारेकमा समेत बाघ पसेर उपद्रो मच्चाएको थियो । निकुञ्जसित जोडिएको उक्त क्षेत्रमा जनज्योति, तपोभूमि र पशुपति सामुदायिक वन रहेको छ ।
अहिले निजगढ तथा अमलेखगंज क्षेत्रमा दिनदहाडै जङ्गलबाट बाघ निस्केर गाउँ प्रवेश गर्ने र घरपालुवा जनावरलाई मारेर खाँदा आतङ्क फलिएको घलानले बताउनुभयो । बन्यजस्तुको बढ्दो आतङ्क नियन्त्रण गर्न निजगढ नगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि विच छलफल भएको छ ।
जनप्रतिनिधिहरूले सर्वसाधारणको घरपालुवा पशु बाघले खाई दिएपछि त्यसको क्षतिपूर्तिको लागि निकुञ्जले पहल गर्नुपर्ने माग गरेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले वन्यजन्तुबाट निकुञ्ज क्षेत्रसँग जोडिएका ग्रामीण भेगमा भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्