बलात्कारको घटना गाउँमै मिलाउन खोज्नेलाई कैद र जरिवाना
राजविराज । गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्नाका दोषीलाई सप्तरी जिल्ला अदालतले कैद तोक्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ की १८ वर्षीया युवतीको २९ भदौ २०७७ मा सामूहिक बलात्कार भएको थियो । बलात्कार घट्नालाई गाउँमै मिलाउन खोज्दा पीडित युवतीले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
उक्त बलात्कार घट्नामा संलग्नलाई कैद सजाय तोक्ने फैसला बिहीबार अदालतले गरेको छ । यसअघि अदालतले पञ्चायतीमा संलग्न व्यक्तिहरूलाई कैद तोकिसकेको छ ।
सामूहिक जबरजस्ती करणी गर्ने मुख्य प्रतिवादी बब्लु मण्डल र रञ्जित मण्डललाई जनही १३ बर्ष कैद र उनीहरूबाट पीडित परिवारलाई जनही रु एक/एक लाख क्षतिपूर्ति बापत भराउने आदेश अदालतले दिएको श्रेष्तेदार कुमार मास्केले जानकारी दिनुभयो ।
जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासले सोही घटनामा मतियार रहेका धर्मानन्द मण्डललाई मुख्य प्रतिवादीलाई भएको कैद सजायको आधा ६ वर्ष ६ महिना कैद र रु एक लाख रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । उक्त घट्नामा संलग्न मतियार भई हालसम्म फरार रहेका बिष्णु मण्डलको हकमा उनी पछि पक्राउ परेका बखत मुद्दा जगाउने गरि हाल मुल्तबीमा राखिएको मास्केले जानकारी दिनुभयो ।
पञ्चायत बसेर गाउँमै मुद्दा मिलाउन खोज्ने प्रतिवादी शत्रुघन मण्डल र उजित मण्डललाई यस अघि १८ पुसमा अदालतले मुख्य प्रतिवादीको हकमा कसुर ठहर सम्बन्धी निर्णय हुँदा नै जनही एक/एक बर्ष कैद र रु २५ हजारका दरले जरिवाना गर्ने निर्णय सुनाइसकेको छ । शत्रुघन मण्डल डाक्नेस्वरी नगरपालिका-७ का वडा अध्यक्ष हुन ।
पञ्चायतमा बसी निर्णयमा समर्थन गर्ने अन्य प्रतिवादीहरूलाई जनही २०/२० हजार जरिबाना र जनही २५ हजार क्षतिपूर्ति भराउने गरि मुख्य प्रतिवादीको कसुर ठहर गर्दा नै सजाय ठहर गरि सकिएको छ ।
जबरजस्तीको घटना पछि गाउँमा पञ्चायत बसी पीडित परिवारलाई रु २५ हजार दिएर मुद्दा मिलाउन गाउँकै अगुवाहरूले दबाब दिएका थिए । गाउँमा नमिले सामाजिक बहिस्कार गर्ने धम्की दिएपछि पीडितले भोलिपल्ट ३० भदौमा आफ्नै घरको बलेसीमा झुण्डिएर आत्महत्या गरेकी थिइन ।








प्रतिक्रिया राख्नुहोस्