तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैहुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले आज शुक्रबार नै विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गर्नुभएको छ ।

यसअघि नै प्रदेश १ मा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकिएको छ ।

उपसभामुखको मनोनयन आज

यसैबीच प्रदेश १ को उपसभामुख चयनका लागि शुक्रबार मनोनयन दर्ता गरिदैछ। प्रदेशसभाको बिहीबार बसेको तेश्रो बैठकले उपसभामुख चयनको प्रक्रिया अघि बढाएको हो।

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको कार्यतालिका अनुसार शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ। उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुनेछ।

बिहीबार बसेको प्रदेशसभा बैठकले सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button