कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक

काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा कानुनविद्ले देशमा स्थिरताका निम्ति नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।
यहाँ आज आयोजित साक्षात्कारमा नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य जगत पार्कीले आफूहरू देशमा स्थिरता चाहने भएकाले कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सही भएको बताउनुभयो ।
उहाँले त्यसलाई अन्य दृष्टिकोणबाट भन्दा पनि सकारात्मक ढङ्गले सोच्न आग्रह गर्नुभयो । कांग्रेसले विश्वासको मत दिएर देशलाई स्थिरतातर्फ लैजान सहयोग पुर्याएको उहाँको विश्लेषण छ ।
नेकपा एमालेका नेता एवं संविधानविद् कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमतिको सरकार बन्दै गर्दा कांग्रेसको पछिल्लो कदमलाई अस्वाभाविक भन्न नसकिने बताउनुभयो ।
सोही अवसरमा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर संविधान र लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा गल्ती गरेको टिप्पणी गर्नुभयो ।
अर्का संविधानविद् डा रुद्र शर्माले भन्नुभयो, ‘कांग्रेसले अहिलेको सरकारलाई समर्थन गरेपछि संसद् प्रतिपक्षविहीन भयो भन्नेजस्ता कुरा सुनिन्छ, त्यो सत्य होइन, दुई राजनीतिक दलहरु प्रतिपक्षमै छन्, कांग्रेसले पनि प्रतिपक्षमा बस्छु भनेको छ, संसद् प्रतिपक्षविहीन भएको अवस्था होइन ।’
त्यसैगरी, वरिष्ठ अधिवक्ता केदार कार्कीले सरकारलाई समर्थन दिए पनि कांग्रेस सरकारमा जाँदा मात्रै सत्तापक्ष हुने नत्र प्रतिपक्षकै रूपमा रहने दाबी गर्नुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्