मध्यविन्दुमा ‘नवप्रवर्तन’कार्यक्रम

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाले ‘नवप्रवर्तन’ कार्यक्रमको पहिलो चरणको काम सुरुआत गरेको छ ।
गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा सञ्चालित ‘नवप्रवर्तन’ कार्यक्रमका लागि नगरपालिका छनौट भएसँगै कार्य थालेको हो । ‘नवप्रवर्तन’ कार्यक्रम अन्तरगत यस पालिकामा प्रदूषण न्यूनीकरण, फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य फोहोरमैला व्यवस्थापन , स्थानीयलाई रोजगारी सृजना र किसानलाई जैविक मल उपलब्ध गराउने रहेको छ ।
अहिले वडा नं. १५ मा स्याम्पल मल उत्पादन गर्ने कार्य थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले जानकारी दिनुभयो । ‘पातपतिङ्गर गोबर मल राखेर कति दिनमा कुहिन्छ भन्ने जाँच गर्न नमुनाको रुपमा स्याम्पल मल उत्पादन गर्न सुरु गरेका छौँ । कुहिएर मल बन्न कति दिन लाग्छ सोही आधारमा तालिका मिलाउनुपर्छ । ’ पनेरुले भन्नुभयो । यसै कार्यक्रमलाई मध्यनजर गर्दै स्थानीय फोहोरमैला व्यवस्थापन ऐन २०७९ पारित , प्रस्तावित गौशालाको गुरु योजना तयार , व्यक्तिगत फर्मलाई काम हस्तान्तरण को लागि टेर्म्स अफ रेफरेन्स तयार , फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको दोस्रो फेज– निर्माण व्यवसायी सँग सम्झौता र ट्याक्टर तथा अन्य उपकरण खरिद गर्न स्पेसिफिकेसन निर्माणको क्रममा रहेको पनेरुले बताउनुभयो ।
पालिकाले यस कार्यक्रममा विशेषगरि अर्ध बेरोजगारी रहेका स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयास गरेको छ । सडक छेउछाउका झाडी , वनका पातपतिङ्गर, बढी भएका घाँस पराल जोखेर किलोका दरले पालिकाले खरिद गर्ने छ । जसबाट स्थानीले आम्दानी गर्नेछन् भने जैविक मल उत्पादन गरी किसानलाई सहुलियतमा बिक्री गरिनेछ । जसबाट मलको समस्या समाधान हुने , कृषि उत्पादन वृद्धि हुने र रासायनिक मलको प्रयोग कम गर्न प्रेरित गर्ने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । गौशाला निर्माण गरी छाडा पशुचौपायाको व्यवस्थापनसमेत गरिने अधिकारीले बताउनुभयो ।
यस परियोजनाले स्थानीय स्तरमा रोजगारी सृजना गरी गरिबी निवारणमा महत्त्वपूर्ण योगदानका साथ वातावरण संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने नगर प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभयाे ।
गण्डकी प्रदेश सरकारले ‘नवप्रवर्तन’ कार्यक्रमका लागि २ करोड १३ लाख ८० हजार रकम प्रदान गरेको छ । पालिकाले ६३ लाख ८० हजार बिनियोजन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गण्डकी प्रदेशकी सचिव पङ्गेनीका अनुसार सुशासन , सेवा प्रवाह र स्थानीय आर्थिक विकासको तीनवटा पाटामा ‘नवप्रवर्तन’ कार्यक्रम मार्फत कार्य गरिनेछ । गण्डकी प्रदेशमा पाँच वटा स्थानीय तह यो कार्यक्रमका लागि छनौट भइसकेको पङ्गेनीले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि प्रदेश सरकारले ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लागत साझेदारी रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्