तपाईँ सुन्दै हुनुहुन्छः

बीमा दाबी भुक्तानी सम्बन्धी अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै प्रदेशमा शाखा कार्यालय खोल्न, शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाटै हुने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा यही पुस २६ गते मङ्गलवार काठमाडौँमा भएको निर्जीवन बीमा कम्पनीहरूसँगको बीमा दाबी भुक्तानी सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले साना बीमा दाबी भुक्तानीका लागि न्यूनतम कति कागजात चाहिन्छ त्यसको यकीन गरी छिटो दाबी भुक्तानी दिनुपर्ने र त्यसका बारेमा सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “बीमाको दाबी भुक्तानी र जोखिमांकनमा समस्या छ । बीमा कम्पनी सकेसम्म दाबी भुक्तानी दिन चाहँदैनन् भन्ने गुनासा आएका छन् । कम्पनीहरूले बीमाको पुनर्बीमा नगराएको र क्षमताभन्दा बढी बीमा गरेका कारण दाबी भुक्तानी रोकिएको भन्ने कुरा आएको छ । अब त्यसका बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

बीमा दाबी भुक्तानी बीमा कम्पनीको दक्षताको सूचक भएको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “एउटा घटनालाई उदाहरण दिएर बीमा दाबी भुक्तानीमा ढिलो गर्नहुँदैन । बीमितले विश्वास गरेजस्तै कम्पनीले पनि बीमितलाई विश्वास गर्नुपर्छ । दाबी भुक्तानी छिटो दिएर बीमाप्रतिको अविश्वासलाई बिस्तारै विश्वासमा बदल्नुपर्छ । बीमा व्यवसाय बढाउने बाटोमा अगाडि बढ्नुपर्छ ।”

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयमै बीमा दाबी भुक्तानी पाउँदा बीमितमा जति खुशी हुन्छ, ढिलो हुँदा त्यति हुँदैन भन्नुहुँदै छिटो छरितो माध्यमबाट बीमा दाबी भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बीमा दाबी भुक्तानी सम्बन्धी कानूनी व्यवस्था र प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले कर्णाली प्रदेशमा निर्जीवन बीमाको पहुँच, समस्या र समाधानका उपाय सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

छलफलमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र दाबी भुक्तानी विभागका प्रमुखहरुले समयमा नै सर्भे प्रतिवेदन नआउने, सर्भेयरले दाबी भुक्तानीका बारेमा स्पष्ट उल्लेख नगर्ने, ताकेता गर्दा पनि समयमा नै बीमितले कागजात नबुझाउने, साना बीमा दाबीमा आवश्यक कागजात नपुग्ने, कतिपय सर्भेयरबाट सही मूल्याङ्कन नहुने लगायतका गुनासा गर्नुभएको थियो । साथै,  उहाँहरूले व्यवसाय बढेसँगै बीमा दाबी भुक्तानी नभएको सङ्ख्या बढेको हुनसक्ने, बीमितका लागि पनि कागजात बुझाउने मिति तोकिनुपर्ने, सर्भे रिपोर्टमा एकरूपता ल्याउनुपर्ने र सर्भेयरहरुको पनि अनुगमन गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा दाबी भुक्तानी विभागका प्रमुख र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button