वीरगञ्जबाट डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु
वीरगञ्ज । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीबाट डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु भएको छ ।
डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु भएसँगै वीरगञ्ज रक्सौल सिमानाका तथा बजारमा डस्टीकार्गोको आयातको क्रममा हुने स्थानीयले खेप्नुपरेको धुलो धुवा र फोहोरको समस्या समाधान भएको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार नेपाल भित्रिने धुलोयुक्त कार्गोका लागि वीरगञ्ज सुक्खा बन्दरगाह भित्र ट्रेनको ट्र्याक स्थानान्तरण गरी डस्टीकार्गो ह्यान्डलिङ सेवाका लागि संरचना तयार पारिएपछि कार्गो सेवा सुरु भएको हो ।
नेपाल इन्टर मोडल यातायात विकास समितिले आइतबारदेखि भारतको रक्सौलदेखि नेपालको वीरगञ्ज, पुरानो भन्सार हुँदै साथै वीरगञ्ज एकीकृत जाँच चौकीमा डस्टीकार्गो बोकेका ट्रकहरूको आवागमन समेत शुरु गरिसकेको छ ।
आइतबार, सोमबार गरी झण्डै ६० भन्दा बढी डस्टीकार्गो ट्रकहरू नेपाल भित्रिएका छन् । यसअघि नेपाल आउने डस्टीकार्गो रक्सौल ह्यान्डलिङ भएर नेपाल आउने गरेकोमा अब रेलबाट सिधै वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आएर ह्यान्डलिङ हुनेछ । यसका लागि ट्रेनको ट्र्याक निर्माण गरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
विगतमा डस्टीकार्गो भारतको रक्सौलमा ह्यान्डलिङ भएर ट्रकमार्फत नेपाल आउने गरेको थियो । अब सिधै वीरगञ्जको सुख्खा बन्दरगाह आई पुगेको डस्टीकार्गोलाई बन्दरगाह भित्रैबाट ह्यान्डलिङ गरी ट्रक मार्फत वीरगञ्ज पथलैया औद्योगिक क्षेत्र तथा अन्य तोकिएको स्थानमा पुर्याईने हुँदा यसबाट नेपालमा रोजगारी बढ्ने र व्यवसायीहरूको लागत खर्च पनि कम पर्ने देखिएको छ ।
रक्सौलबाट अनलोडिङ्ग हुँदै आएको डस्टीकार्गोको आयात रोक्न विगतमा सीमा क्षेत्रका भारतीय नागरिकले आन्दोलन समेत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्