तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्ष रहमान मियाँ कारागार चलान

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँलाई सरकारी कागज तथा नागरिकता किर्ते गरेको आरोपमा आइतबार कारागार चलान गरिएको छ ।

सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि आइतबार राजविराज कारागार चलान गरिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।

वडा अध्यक्ष मियाँमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको उनीमाथि आरोप लागेको छ ।

मुद्दा विचाराधिन रहेकै अवस्थामा मियाँ दोस्रोपटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।
आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

यो प्रकरणमा ८३ लाख रुपियाँ भन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । यो घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ ।सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ८३ लाख ४१ हजार १०८ रुपियाँ हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा फरार सूचीमा रहेका मियाँ गत बिहीबार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button