रोकिराखेको टिप्परमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु, दुई घाइते
सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडक खण्डमा आइतबार बेलुका रोकिराखेको टिप्परमा दुईवटा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खडक नगरपालिका–११ स्थित वडा कार्यालयदेखि दुई सय मिटर पूर्व हुलाकी सडक खण्डमा बोदे बर्साइन नगरपालिकाबाट राजविराजतर्फ आउँदै गरेको बा ८ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४प ८६१९ नम्बरको मोटरसाइकल बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिप्परमा ठोकिँएका थिए ।
दुर्घटनामा परी बा ८ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका–११ बनौलीका २० वर्षीय बैजु भनिने बैजनाथ चौधरी र अर्को ८६१९ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरपालिका–१० का २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
त्यस्तै ३२१५ नम्बरको मोटरसाइकल पछाडि सवार खडक–११ बनौलीका २२ वर्षीय बुधन चौधरीको गाला र हात खुट्टामा चोट लागेको छ । उनको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ ।अर्को ८६१९ नम्बरको मोटरसाइकल चालकका छोरा २२ वर्षीय सुमनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
बिग्रेर सडक किनारमा रोकिराखेको टिप्परको मर्मतपश्चात् प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक राजु अधिकारीले बताउनुभयो । मोटरसाइकल र टिप्पर चालक प्रहरी नियन्त्रणमा छन् ।








प्रतिक्रिया राख्नुहोस्