तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै 

विराटनगर । मोरङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै गएको छ । 

जोन तथा सुपर जोन कार्यक्रम सञ्चालन गर्दै अनुदानमा कृषि उपकरण उपलब्ध गराएपछि परियोजना प्रभावकारी बन्दै गएको हो ।    

खेत जोत्न धान काटन धान रोप्न तथा पोखरी खन्न परियोजनाले कृषि उपकरण अनुदान दिएपछि कृषि यान्त्रीकरणमा किसानको आकर्षण बढ्न थालेको छ ।

विगतमा हलो र मजदुरको प्रयोग गरेर परम्परागत रुपमा खेती गर्दै आएका  किसानहरू अहिले खेत जोत्नदेखि बाली रोप्न तथा बाली काट्न मेसिनको प्रयोग गर्न थालेका छन् ।

 आर्थिक वर्ष २०७३/०७४ सालदेखि शुरु भएको सो परियोजना अन्तर्गत मोरङमा  धान, माछा तथा तरकारी जोन कार्यक्रम सञ्चालनमा छन् ।

जोन कार्यक्रम सञ्चालन भएका स्थानमा कष्टम हायरिङ सेन्टर स्थापना गरेर माछा पालनका लागि पोखरी खन्न जेसिपी एयर टेलर, धान जोनका  लागि धान काट्ने तथा धान रोप्ने ठुला ठुला  मेशिन, गोडमेल गर्ने औजार त्यस्तै तरकारी जोनका लागि सिँचाइको व्यवस्था तथा ढुवानीका साधन, हाते ट्याक्टर, पिकप भ्यान तथा पावर टिलर लगायतका साधन किसानलाई उपलब्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोज यादवले बताउनुभयो । 

जहदा गाउँपालिका–७ का किसान देवानन्द साहले उत्पादन वृद्धि गर्न  परियोजनाले ठुलो मद्दत पुर्‍याएको बताउनुभयो । तरकारी खेतीका लागि खेत जोत्न पावर टिलर, सिँचाइका साधन, ढुवानीका साधनदेखि तरकारी गोडमेल गर्ने मेसिन समेत पाउँदा खेती गर्न अहिले निकै सहज भएको उहाँको भनाई छ ।

परियोजनाका कारण मोरङका ८०  प्रतिशतभन्दा बढी किसानहरू यान्त्रीकरणको प्रयोगबाट खेती गर्दै आएका छन् । परियोजनाले गरेको सहयोगका कारण कृषि यान्त्रीकरणमा सहयोग पुग्नुका साथै किसानको उत्पादन लागत घटेको र उत्पादनमा समेत वृद्धि भएको कार्यालय प्रमुख यादवको भनाई छ । 

परियोजनाका कारण किसानको उत्पादन लागत २५ देखि ३० प्रतिशतले घटेको छ । 

युवा शक्ति विदेश पलायन भइरहेकाले श्रमिक नपाइरहेको अवस्थामा परियोजनाले गरेको सहयोग कृषिमा यान्त्रीकरणले मद्दत पुर्‍याएको   कटहरी तथा जहदा गाउँपालिका तरकारी जोनका अध्यक्ष सिवनाथ सिंहको भनाई छ ।  

यान्त्रीकरणको माध्यमबाट आफूले चार विगाह जग्गामा तरकारी खेती गर्दै आएको र त्यसबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले जोन तथा सुपर जोन क्षेत्रमा किसानलाई ५० देखि ८५  प्रतिशतसम्म अनुदानमा कृषि उपकरण तथा सिँचाइका लागि बोरिङ, पम्पिङ सेट तथा मटर उपलब्ध गराउँदै आएको छ । 

परियोजना सञ्चालनमा आएपछि मोरङ जिल्लामा माछा पोखरीको क्षेत्रफल  उल्लेखनीय रुपमा बिस्तार भएसँगै माछा उत्पादनमा समेत वृद्धि भएको छ । 

परियोजनाले अहिलेसम्म चार सयभन्दा बढी कृषि उपकरण तथा कृषि औजार वितरण गरेको र त्यसबाट  १५ हजारभन्दा बढी किसान लाभान्वित भएको परियोजनाले जनाएको छ ।  

जोन कार्यक्रम सञ्चालनमा आएपछि माछा, धान तथा तरकारी उत्पादनमा समेत वृद्धि भएको कार्यालय प्रमुख यादवको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button