तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । 

संसदीय दलको बैठकअघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकका बारेमा पदाधिकारीबीच छलफल गर्नुभएको थियो । उक्त बैठकमा आज बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेदेखि सुरु हुँदैछ । सोही सन्दर्भमा छलफल गर्न आज संसदीय दलको बैठक बस्न लागेको हो । 

निर्वाचनबाट काँग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । 

सङ्घीय संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । 

प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुने तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button