डडेल्धुरामा सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या बढ्दै
डडेल्धुरा । डडेल्धुरामा सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या बढेको छ ।
जिल्ला अदालतको तथ्यांकअनुसार पछिल्लो समय सबैभन्दा बढी मुद्दा सम्बन्ध बिच्छेद कै आउन थालेका छन् ।
आज डडेल्धुरा जिल्ला अदालतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका र चालू आर्थिक वर्षमा दर्ता भएका गरी जम्मा मुद्दाको सङ्ख्या ९२ रहेको छ ।
“९२ मुद्दामध्ये अहिलेसम्म २७ मुद्दाको फैसला भइसकेको छ भने बाँकी विचाराधीन छन्,’ उहाँले भन्नुभयो ‘सबैभन्दा बढी २७ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका छन् । १० मुद्दाको फैसला भइसकेको छ ।”
डडेल्धुरामा दिन–प्रतिदिन सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा कानूनी सहजता पनि भएको बताउनुहुँदै उहाँले भन्नुभयो, “केही वर्ष अगाडिसम्म सम्बन्ध बिच्छेद गराउँदा निकै झन्झटिलो प्रक्रिया थियो । अहिले कानूनी प्रक्रिया निकै सहज भएकाले पनि सम्बन्ध बिच्छेद बढ्दो क्रममा छ ।”
सम्बन्ध विच्छेदका लागि आउने जोडीलाई सकभर मिलाउने प्रयास गर्दै आएको दाबी उहाँको छ ।
“सामाजिक सञ्जालको प्रयोगले पनि नराम्रो प्रभाव पारेको छ”, उहाँले भन्नुभयो “अनैतिक सम्बन्धले पनि सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् ।”
मुलुकी देवानी संहिताको परिच्छेद ३, दफा ९३ मा पतिपत्नीले चाहेमा जहिलेसुकै सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने उल्लेख छ । तेस्रो व्यक्तिसँग यौन सम्बन्ध राखेको ठहरिएमा, अङ्गभङ्ग हुने गरी कुटेमा, कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा वा पतिले समेत जबर्जस्ती करणी गरेमा सम्बन्ध विच्छेदको बाटो रोज्न सकिने कानूनी सुविधा छन् ।
यस्तै डडेल्धुरा जिल्ला अदालतमा सम्बन्ध विच्छेदपछि सबैभन्दा बढी अर्थात् १२ वटा चेक अनादरका मुद्दा रहेका छन् । लेनदेन र जवरजस्तीकरणीका ७÷७, सवारीका ज्यानका ५, जवरजस्तीकरणी उद्योगका ४, घरेलु हिंसा, बालयौन दुरुपयोग, हातहतियार खरखजाना र कर्तव्य ज्यानका ३÷३ वटा मुद्दा रहेका छन् ।
त्यस्तै, ठगी, मोटरसाइकल चोरी, नाबालक जिम्मा लगाई पाउँ, लिखित सम्झौता, दुष्कृति, इज्जत आमदअनुसार खान लगाउन, हाड नाता करणी, वकसपत्र बदर गरिपाउँ, नकवजनी चोरी, आत्महत्या दुरुत्साहन र लागूऔषधका एक÷एक मुद्दा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्