तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयता बलियो बनाउन दलहरू एकजुट हुनुपर्छ’

कास्की । देशभरका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख पोखरामा भेला भएका छन् । जिल्ला समन्वय समिति महासङ्घको चौथो राष्ट्रिय परिषद् बैठक आजदेखि पोखरामा सुरु भएको हो ।

परिषद्को उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सङ्घीयता बलियो बनाउन दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ । कार्यक्रममा सम्बोधन गर्दै तिमिल्सिनाले दिगो राष्ट्रिय लक्ष्य प्राप्ति गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बताउनुभयो ।

पालिकाहरूले दिगो लक्ष्य प्राप्तिका लागि गरेको कामको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिलाई प्रदेश र सङ्घबाट कस्तो सहयोग छ भन्ने कुरा अहिले टड्कारो रुपमा रहेको जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष नवराज गेलाले बताउनुभयो ।

महासङ्घका अनुसार आज र भोलि हुने परिषद् बैठकमा ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र एक महिला सदस्यसहित ३ सय जनप्रतिनिधि सहभागी छन् ।

बैठकले जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउनेबारे छलफल तथा अनुभव आदानप्रदानका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button