तपाईँ सुन्दै हुनुहुन्छः

ग्लोबल आइएमई र बैङ्क अफ काठमाण्डुको एकीकृत कारोबार पुस २५ गते

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ ।

दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारण सभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । 

राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैङ्क मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैङ्कको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डुको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैङ्क अफ काठमाण्डुको एक सय कित्ता शेयर भएका शेयर धनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैङ्कको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जरपश्चात् बन्ने बैङ्कको चुक्ता पुँजी रु ३४ अर्ब ४१ करोड पुग्नेछ । बैङ्कको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैङ्कको निक्षेप रु तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैङ्कको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन् ।

मर्जरपश्चात् बन्ने बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सिइओ रत्नराज बज्राचार्य बन्नुहुने छ । साथै मर्जरपश्चात् बैङ्क अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नुहुने छ । 

बैङ्कको सञ्चालक समितिमा ग्लोबल आइएमई बैङ्कका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैङ्क अफ काठमाण्डुका तर्फबाट दुई जना रहने सहमति भएको थियो ।

तीन दिन सेवा बन्द
पुस २५ गते एकीकृत कारोबार अगाडि तीन दिन बैङ्क अफ काठमाण्डु लिमिटेडले तीन दिन सेवा बन्द गर्ने भएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि बैंकले पुस २२ देखि २४ गतेसम्म सम्पूर्ण बैङ्किङ सेवा बन्द रहने जनाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button