तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावरबाट बाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आउनुभएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउली लगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँ ठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्नुहुन्छ ।

“जङ्गली जनावर खेतबारीमा पसेको थाहा पाउने बित्तिकै घण्टी बजाउँछौँ”, उहाँले भन्नुभयो, “घण्टी जोरसँग बजाउन सुरु गरेपछि जनावर भाग्छन्, घण्टी बजाउन छाडेको केही बेरमै जनावर खेतमा पुनः आउने गर्दछन्, परिवारका सबै सदस्यले रातभर पालैपालो घण्टी बजाउने गरेका छौँ ।”

रातमा परिवारका सदस्य एक दुई घण्टा मात्रै सुत्ने गरेको उहाँले बताउनुभयो । नीलगाई, चित्तल र बँदेलले बढी सताउने गरेको उहाँको भनाइ रहेको छ । रखवारी गर्दागर्दै पनि जङ्गली जनावरबाट बाली जगाउने नसकिएको मानबहादुर रानाले बताउनुभयो ।

निकुञ्जबाट हुलका हुल जनावर आउने भएकाले खेतमा लगाएको बाली जोगाउन निकै मुस्किल भएको पूर्व वडाअध्यक्ष बाले रानाले बताउनुभयो ।

जनावरले बाली खाएर हैरान पारेसँगै पछिल्लो समय हात्तीले पनि सताउन थालेको छ । उहाँले भन्नुभयो, “हात्ती पनि आउन थालेपछि ज्यान जोगाउनै मुस्किल हुन थालेको छ ।” रानाका अनुसार मङ्गलबार दिनभर हात्ती उखुबारीमै बस्यो, धपाउने अनेक उपाय अपनाए पनि गएन, तीन बिघा जग्गामा लगाएको उखुमध्ये १० कट्टाको पूरै तोडेर र खाएर नोक्सानी गर्‍यो, राति नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा भगाइयो ।

हात्ती निकुञ्जमा फर्किए पनि पुनः बस्तीमा आउने डर भएको क्षेत्रका बासिन्दा निकै त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष नवलसिंह राना जङ्गली जनावरले निकै सताउन थालेकाले निकुञ्ज कार्यालयले नियन्त्रणको प्रयास गर्नुपर्ने बताउनुहुन्छ ।

हिउँदको बेला मात्रै नभएर निकुञ्जका जनावर स्याली नदीमा बाढी आएका बेलासमेत खेतमा पस्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । धान, गहुँ लगायतका बाली पूरै जङ्गली जनावरले सखाप पार्न थालेपछि केही किसानले उखु खेती गर्न थालेका छन् । उखु पनि हात्तीले खान थालेपछि किसान निकै निरास भएका छन् ।

हात्तीको त्रास : बराहक्षेत्र नगरका जनता त्रसित

उता धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जत्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन् ।

बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जङ्गलमा दिनभरि बस्ने र साँझ परेपछि मानवबस्ती पसेर खेती बालीमा नोक्सान पुर्‍याउँदै आएको नडाहाका स्थानीय महेन्द्र कार्कीले बताउनुभयो ।

पन्ध्र दिनअघिदेखि रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर एकै स्थानमा बस्दै आएका छन् । २८ वटासम्म हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताउनुभयो ।

बराहक्षेत्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराह क्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बिचपानी, विशाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । ३ नं वडामा हालसम्म दुई वटा घरमा क्षेत्र पुर्‍याएको वडाध्यक्ष लामाले बताउनुभयो । बाक्लो बस्ती छ १, २, ३ र ५ नं वडा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्नुपर्ने बाध्य भएको स्थानीय बताउँछन् ।

स्थानीय महेन्द्र कार्कीका अनुसार नडाहा क्षेत्रमा पर्ने कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले साइरन जडान गरेको गाडी डुलाउने गरेको छ । हात्ती आएपछि साइरन बजाएर खेदाउने गरिएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताउनुभयो । दैनिक नाङ्लो ठटाएर हात्ती तर्साउने कामभन्दा अरू केही विकल्प नभएको जनप्रतिनिधि बताउँछन् । क्षति भएको घरधनीलाई भने नगरपालिकाले केही राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गरेर राहत उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button