जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तरक्रिया कार्यक्रममा उहाँले केही कानुनी जटिलताकाबीच पनि सङ्घ र प्रदेशसभामार्फत सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सङ्घ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिनुभयो । मुलुकको संविधानको व्यवस्थाअनुरूप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बनाउँदा थोरै मन्त्रालय बनाइनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले प्रदेशसभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुने गरेको प्रसङ्ग उल्लेख गर्दै कमीकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभालाई अधिकार सम्पन्न बनाइ जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले जनप्रतिनिधि कानुन बनाउने भन्दा पनि विकासका लागि धाउनुपर्ने बाध्यताको अन्त्य गरी सङ्घ र प्रदेशसभालाई कानुनमार्फत प्रभावकारी थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई प्रभावकारी बनाएर जनताको हितमा काम गर्न जनप्रतिनिधि केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यक ऐन, कानुन बनाउन ढिलो भएका कारण प्रदेशसभा प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै प्रदेशसभाको अनुभवलाई जीवन्त आगामी भूमिकालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय राजनीतिलाई दिगो बनाउन र परिवर्तित व्यवस्थालाई स्थापित गर्न फोरमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले संसदीय प्रणालीलाई बलियो र प्रभावकारी बनाउन जनप्रतिनिधि जिम्मेवारीपूर्वक ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दाहालले सङ्घ र प्रदेशको प्रभावकारी समन्वयमा सुशासन र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेशका निवर्तमान सभामुख एवं स्पिकर्स फोरमका संयोजक राजबहादुर शाहीले लामो सङ्घर्षबाट अहिलेको व्यवस्था आएको भन्दै सङ्घ र प्रदेशबिचको सम्बन्ध स्थापित गर्न फोरमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घ र प्रदेश सरकारबीच पुलको भूमिका निर्वाह गरी जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सातै प्रदेशसभाका निवर्तमान सभामुख र उपसभामुखहरूको साझा फोरमको रुपमा स्पिकर्स फोरम स्थापना गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्