तपाईँ सुन्दै हुनुहुन्छः

खेलबाट चिनिएका भुपेन्द्र, जो कलाकार समेत हुन्  

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न.१ गुरुखोलामा जन्मिएका भुपेन्द्र चन्द २०६१ सालदेखि भलिबल खेलमा सक्रिय छन् । 

उनले २ दर्जन बढी खेलहरूमा उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् भने, १ सय बढी नयाँ खेलाडी उत्पादन गरेका छन् । चन्द ५ पटक बैतडी जिल्लाबाट क्षेत्रीय टिमको कप्तानी सम्हालेका व्यक्ति हुन् । उनको कप्तानीमा रहेको बैतडीको टिम हरेक पटक क्षेत्रीय प्रतियोगितामा प्रथम वा द्वितीय भएको चन्द सुनाउँछन् । 

उनले बुटवल र नवलपरासीमा गरी २ पटक राष्ट्रिय भलिबल प्रतियोगिता खेलेका छन् । 

चन्दले भारतको पिथौरागढ स्थित डिग्री कलेजबाट क्षेत्रीय खेल खेल्दा उत्कृष्ट प्रतिभा देखाएका थिए । उक्त खेलमा उनले वेस्ट स्पाईकरको उपाधि पाउँदै राष्ट्रिय खेलका लागि छनोट भए । यद्यपि उनले प्राविधिक कारणले भारतमा राष्ट्रिय प्रतियोगिता भने खेलेनन् । 

भुपेन्द्रले ३ वर्ष राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताका लागी निङ्गलाशैनी मावि देहिमाण्डौँका खेलाडीहरूलाई निःशुल्क प्रशिक्षण गरेका थिए भने मणिलेक मावि गुरुखोलामा पनि खेलकुद प्रतियोगीताका लागि सहयोग गर्दै आएका छन् ।    बैतडी जिल्लामा हुने अन्य खेलकुद प्रतियोगिताहरूमा पुरस्कार राशि घोषणा गर्दै अनुशासित र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार दिँदै आएका छन् । 

बैतडीमा हुने भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन लगायतका प्रतियोगिताहरूमा व्यवस्थापकीय भूमिका खेल्दै आएका छन् ।

चन्दले २०७३ सालमा प्रदेश रेफ्रीको ७ दिने तालिम प्राप्त गरी लाइसेन्स प्राप्त गरेका हुन् । उनले दर्जनौँ प्रतियोगिताहरूमा रेफ्री संयोजक बसेर प्रतियोगिताहरू सम्पन्न गरेका छन् । आफु सहभागी भएको कुनैपनी खेलमा कहिल्यै पनि विवाद नआएको उनको भनाई छ । 

चन्दले कलाकारितामा समेत चासो राख्छन् । उनले रामलिला महोत्सवहरूमा विभिन्न पात्रको भूमिका निर्वाह गर्दै आएका छन् । कुम्भकर्ण, दुषण, अही रावण लगायतका पात्र र सोराडी राजाको भूमिका निर्वाह गरिरहेका छन् । उनले खेल प्रतियोगिताहरूमा समेत देउडा तथा दोहोरी गीत गाउँदै खेलाडीहरूलाई मनोरञ्जनका साथै हौसला प्रदान गर्दै आएका छन् । 

उनी यातायात व्यवसायी समेत भएकाले आर्थिक अवस्था कमजोर भएका खेलाडीहरूलाई गाडी भाडा निःशुल्क गर्ने गर्दछन् । चन्दको देहिमाण्डौँ बजारमा विगतमा चर्चित क्यासेट सेन्टर थियो । उनले खेलाडीहरूलाई पुरस्कारमा समेत उत्कृष्ट गीतहरू समेटिएका क्यासेट वितरण गर्ने गर्दथे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button