तराईमा कठ्याङ्ग्रिँदो जाडो बढ्दै, १ सय ५० जनालाई न्यानो कपडा वितरण

वीरगंज । विगत दुई दिनदेखि बढ्दै गएको कठ्याङ्ग्रिँदो चिसो र शीतलहरका कारण मध्य तराईको बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।
बाक्लो कुहिरो हुस्सुसहित शीतलहरले दुई दिन यता जनजीवन थप कष्टकर बनेको छ । मौसम नखुल्दा जाडो बढिरहेको छ भने भिजिबिलिटी घटिरहेको छ ।
चिसो बढेसँगै वीरगंजको नारायणी अस्पताल लगायतका अस्पताल तथा क्लिनिकहरूमा रुघाखोकी श्वासप्रश्वास, दम, कोल्ड डायरियाका बिरामी बढेका छन् । नारायणी अस्पताल वीरगंजमा चिसो बढेसँगै बिरामीको चाप समेत बढेको वरिष्ठ फिजिसियन डा. निरज सिंहले जानकारी दिनुभयो ।

बाक्लो हुस्सु सहित मौसममा आएको परिवर्तनले भिजिबिलिटी घट्दा बाराको सिमरा विमानस्थलबाट हुने उडानहरू अनियमित भइरहेका छन् । बाक्लो कुहिरो लागेको समयमा उडान अवतरण पूर्ण रुपमा ठप्प रहेको छ । चिसोले निम्न वर्गका परिवार, बालबालिका, दीर्घ रोगी, मजदुर, ज्येष्ठ नागरिक लगायतलाई अत्यधिक समस्या भएको छ ।
चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउँछाउँ, घर लगायत विभिन्न ठाउँमा आगो तापिरहेका देखिन्छन् । घाम नलाग्दा दिनहुँ तापक्रम घट्दै गएको छ । आज दिउँसो वीरगंजको तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो ।
जाडो बढेसँगै वीरगंज महानगरपालिकाले विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । जाडो बढेसँगै वीरगंज लगायत बारा, पर्साका अधिकांश पालिकाले निजी तथा सामुदायिक विद्यालय आगामी शुक्रवार सम्म बन्द गरेका छन् । सरकारी कार्यालयहरूमा समेत जाडोको कारण सेवाग्राहीहरूको उपस्थिति पातलिएको छ ।
छपकैया गुठी तथा नेपाली समाजद्वारा जाडोमा १ सय ५० जनालाई न्यानो कपडा वितरण
कठ्याङ्ग्रिँदो जाडो बढ्दै गएपछि वीरगंजको छपकैया गुठी तथा नेपाली समाजले विपन्न आर्थिक अवस्थाका जाडोबाट प्रभावित १ सय ५० जनालाई आज एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित प्रहरी बिट परिसरमा आयोजित कार्यक्रममा चिसोका कारण प्रभावित भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको थियो ।

मौसम परिवर्तन भएसँगै वीरगंजमा पनि चिसो बढ्दै गएको हुँदा चिसोकै कारण कसैको मृत्यु नहोस् भन्ने अभिप्रायले न्यानो कपडा वितरण गरिएको छ्पकैया गुठी तथा छकैया नेपाली समाजका अध्यक्ष धिरज शर्माले बताउनुभयो ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको उपस्थितिमा सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष ग्यासुदिन ठकुराई, लक्ष्मण थापा, गूठीका उपाध्यक्ष प्रवीण विक्रम शाह , उपाध्यक्ष राजेश जङ्ग राणा, सचिव अजित भुजेल, प्रकाश शाह लगायतको सहभागितामा कपडा वितरण गरिएको छपकैया गुठी तथा छपकैया नेपाली समाजका अध्यक्ष धिरज शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण शम्भु बहादुर थापा क्षेत्रीले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्