तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला : लागुऔषध नियन्त्रणमा चुनौती, दुर्व्यसनीमा फस्दै युवा

जुम्ला । जुम्लामा लागु औषधको प्रयोग र कारोबार बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

प्रहरी प्रशासन लगायत अन्य निकायले लागु औषध नियन्त्रणबारे विभिन्न सचेतनामुलक कार्यक्रम प्रभावकारी नियन्त्रण हुन सकेको छैन ।

प्रहरीका अनुसार लागु औषधको लतमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा युवती फसेका छन् । जुम्लामा आर्थिक वर्ष २०७७/०७८ मा ब्राउन सुगर र चरेस गरी ५ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ब्राउन सुगर र चरेस गरी ७ वटा मुद्दा दर्ता हुँदा चालु आर्थिक वर्षको हालसम्म ब्राउन सुगर र चरेसका ४ वटा मुद्दा दर्ता भएका छन् ।

बितेको ३ वर्ष यता लागूपदार्थ कारोबार र प्रयोगमा संलग्न १८ देखि ४० वर्ष उमेरका ४४ जना पक्राउ परेका छन् । जसमा १८ वर्ष भन्दा मुनिका ३ जना पक्राउ परेका थिए भने ४० देखि ६० वर्षका २ जना पक्राउ परेको जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष सूचना र प्रहरीको आफ्नो अनुसन्धानले मात्रै न्यून सङ्ख्यामा लागुऔषध लतमा फसेकालाई नियन्त्रणमा लिएका हौ । अवस्था निकै भयावह छ । अभिभावकले छोराछोरी लापरवाही पनि गर्ने र सूचना पनि लुकाउने काम गर्दा लागु औषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ ।”

बढ्दो लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न प्रहरी प्रशासनले गाउँकेन्द्रित अभियान थालेको छ । गाउँका युवा युवती शहर बजारमा पढ्न आउने, गलत सङ्गत गर्ने, अभिभावकले निगरानी नराख्ने लगायतका कारणले लागुऔषध दुर्व्यसनी नियन्त्रण बाहिर जान थालेकाले सचेतना अभियान थालिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।

डिएसपी नरेन्द्र चन्दले सिंजा गाउँपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबिच लागु औषध कारोबार निर्मूल पार्ने विषयमा अन्तरक्रिया गरिएको बताउनुभयो । उहाँका अनुसार परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानी अभावमा युवा पुस्ता लागु औषधको लतमा फस्दै जान थालेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button