तपाईँ सुन्दै हुनुहुन्छः

तीन दशकपछि परम्परागत पेसामै फर्किए माझी समुदाय

पाँचथर । पाँचथरको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा सञ्चालनमा ल्याइएको छ । डुङ्गा सञ्चालनमा ल्याए सँगै माझी समुदायहरूले आफ्नो परम्परागत पेसालाई अँगाल्न थालेका छन् । 

पाँचथर र तेह्रथुमको सीमा भई बग्ने तमोर नदीको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७  सीमावर्ती क्षेत्र माझिटारमा पौष १ गते देखि डुङ्गा सञ्चालनमा ल्याइएको हो ।

२०५३ सालमा पाँचथर–तेह्रथुम जोड्ने झोलुङ्गे पुल निर्माण हुनुअघि यहाँ डुङ्गाबाट नै नदी पार गर्ने गरिन्थ्यो । झापा , इलाम र पाँचथरका बटुवाहरू यही बाटो हुँदै तेह्रथुम र दक्षिणी ताप्लेजुङसम्म जाने गर्दथे । विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको  लागि सञ्चालनमा ल्याइएको छ ।

माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेसालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारका १० युवाले डुङ्गा सञ्चालनमा ल्याएका हुन् । अहिले आन्तरिक दैनिक १ सय जना सम्म डुङ्गामा शयर गर्न आउने गरेको सञ्चालक मान बहादुर माझीको भनाइ छ ।

डुङ्गा चढ्न पोखरा पुग्नु पर्थ्यो अहिले आफ्नै ठाउँमा चढ्न पाउँदा अत्यन्तै खुशि लागेको  डुङ्गा चढेर जलयात्रा गरेकी फिदिम नगरपालिका–४ कि विष्णु मायाँ खनाल बताउनुहुन्छ । 

गत वर्षायाममा तमोर नदीमा आएको भेलले बगाएर ल्याएको ठूलो रुख पाँचथरपट्टिकै नदी किनारामा आएपछि  सोही रुखलाई काटेर डुङ्गा बनाई सञ्चालनमा ल्याइएको हो । डुङ्गा निर्माण गर्न १ लाख ५० हजार लागत लागेको माझीले बताउनुभयो ।

काठको डुङ्गा सञ्चालनमा आएपछि यहाँ जलयात्रा गर्न जानेको सङ्ख्या बढेको छ । वनभोज खान जानेको रोजाइमा पर्ने मध्ये एक क्षेत्र माझिटार हो । वनभोज गएकै मौकामा जलयात्रा गर्न पाइने भएपछि यहाँ पुग्ने धेरैले डुङ्गा शयर गर्ने गरेका छन् ।

डुङ्गा सञ्चालनले परम्परागत पेसाको निरन्तरता रहने र रकम सङ्कलन गरेर अब यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेट खरिद गर्ने युवाहरुकोे योजना छ । माछा मार्ने, डुङ्गा चलाउनेजस्ता परम्परागत पेशा लोप नहोस् भन्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको हो ।  

यस क्षेत्रमा ३५ घर माझी समुदायको बसोबास छ । यहाँका माझी समुदायको माछा मार्ने नै मुख्य पेसा हो । पछिल्लो समय खोलामा माछा पाउन छाडेपछि माझी समुदायको पेसा नै धरापमा परेको थियो । डुङ्गा शयर गर्ने को आकर्षण बढे सँगै माझी समुदायमा आर्थिक राहात पुग्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button