तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा

फाइल तस्बिर

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । 

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र बिस्तारमा लाग्ने बताउनुभयो । 

उहाँले आलोचनाका बीचमा नेकपा (माओवादी केन्द्र) लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताउनुभयो । झापा क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका उहाँले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उहाँले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताउनुभयो । “बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिँदैमा आत्तिन्न”, उहाँले भन्नुभयो । 

चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उहाँले कार्यकर्तालाई आश्वस्त पार्नुभयो । 

बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भई अघि बढ्ने बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button