सुदूरपश्चिमका २५ पालिकामा ३० हजार सुधारिएको चुलो वितरण

अछाम । सुदूरपश्चिमका २५ पालिकामा ३० हजार सुधारिएको चुल्हो वितरण गरिने भएको छ । यस क्षेत्रका विभिन्न जिल्लाका ५२ वडा स्थानीयलाई ३० हजार चुलो वितरण गरिने लागेको हो ।
ग्रामीण क्षेत्रका लागि आधुनिक सुधारिएको चुल्होको बजार प्रवर्द्धन परियोजना अन्तर्गत आधुनिक सुधारिएको चुलो वितरण गर्न लागिएको साझेदार संस्था आस्था नेपालले जनाएको छ ।
पछिल्लो समय प्रदूषण बढिरहेको, वनजंगल दाउराका लागि मासिँदै गएको र धुवाँले मानिसमा विभिन्न खालका रोगहरूको संक्रमण देखिरहेको भन्दै यसबाट बच्न आधुनिक सुधारिएको चुल्होमार्फत प्रदूषण कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।
धुवारहित आधुनिक सुधारिएको चुल्होमा कम दाउरा लाग्ने, धुवा धुलोबाट बच्न सकिने बताइएको छ ।
अछाम जिल्लाका ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र रामारोशन गाउँपालिका गरि ७ स्थानीय तहमा चुलो वितरण गरिने भएको छ ।
प्रति चुल्होको मूल्य २५ सय देखि २८ सय रुपैयाँ रहेको जनाइएको छ । ५२ वडा सहित सुदूरपश्चिमका २५ पालिकामा ३० हजार चुल्हो वितरण गरिने र ५ वर्षमा फेरि संस्थामार्फत नै नयाँ चुल्हो प्रदान गरिने आस्था नेपालले जनाएको छ । अछाममा यो कार्यक्रम १० वर्षसम्म निरन्तर रहने भएको हो ।
कार्यक्रममा सहभागी सरोकारवालाले कार्यक्रम प्रभावकारी रहेको भन्दै यसको खरिद मूल्य भने कम हुनुपर्ने बताएका छन् । २५ सय रुपैयाँ सर्वसाधारणको लागि महँगो भएको भन्दै शुल्क घटाएर समुदायमा चुल्हो वितरण गर्नुपर्ने भन्दै उनीहरूले पालिकाबाट हुने सहयोगका लागि आफूहरू तयार रहेको बताएका हुन् ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरले कार्यक्रमलाई वास्तविक लक्षित वर्गसम्म पुर्याउन आग्रह गर्नु भयो ।






प्रतिक्रिया राख्नुहोस्