बेलौरीमा ‘कृषि, पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ सुरु
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा ‘कृषि, पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ सुरु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्ति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था पूर्व विद्यार्थी समाजले महोत्सव आयोजना गरेको हो । बेलौरीको खुलामञ्चमा सञ्चालित महोत्सव यही पुस २० गतेसम्म जारी रहने महोत्सव संयोजक प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।
अनाथ तथा गरिब बालबालिकाको सहयोगार्थ आयोजित महोत्सवको नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले समुद्घाटन गर्नुभएको छ । उद्घाटनका क्रममा प्रदेश सभा सदस्य विष्टले स्थानीय कला, संस्कृति र सम्पदाहरूको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्नु पर्नेमा जोड दिनुभयो ।
महोत्सवमा थारु समुदायका मौलिक खानामा परिकार, कृषि उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी लगायतका गरी विभिन्न व्यावसायिक १५० वटा स्टल राखिएको छ । महोत्सव अवधिभर स्थानीय र राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्