तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा साताव्यापी रुपमा १० औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइदैं

चितवन । पोल्ट्रीको राजधानीको रुपमा परिचित चितवनमा १० औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै छ । कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशको निर्देशन र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा सोमबारदेखि पोल्ट्री दिवस २०७९ मनाउन थालिएको छ । 

१७ गते समापन हुने कार्यक्रममा सोमबार पत्रकारसँग अन्तर्क्रिया, कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्रीबाट पोल्ट्री दिवसको उद्घाटन तथा यस सम्बद्ध संघसंस्थाहरुबीच अन्तर्क्रिया गरिएको छ ।  यस्तै पुस १२ गते भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित जखरीमाई आधारभूत विद्यालयमा अण्डा तथा मासुको महत्त्वबारे सचेतना गर्ने र अण्डा खुवाउने कार्यक्रम रहेको जिल्ला वरिष्ठ पशु अधिकृत सुशील केसीले जानकारी दिनुभयो  । 

यस्तै पुस १३ गते भरतपुर अस्पतालमा उपचारार्थ गर्भवती महिला, कुपोषण र पुड्को भएका बालबालिका  र भरतपुर १० मा रहेको बालमन्दिर विद्यालयका विद्यार्थीलाई अण्डा वितरण गरिनेछ । 

पुस १४ गते कार्यालयमा पोल्ट्री कृषकहरूलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम, १५ गते पोल्ट्री क्षेत्रको अवस्था, अवसर चुनौती, सम्भावना तथा खाद्य र पोषण सुरक्षामा पोल्ट्री क्षेत्रको भूमिका लगायतका विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लेख रचना प्रकाशित गर्ने, पुस १६ गते भरतपुर १० मा निर्माणाधीन सिटी हलका मजदुरहरूलाई अण्डा वितरण गरिने र १७ गते पोल्ट्री दिवस समापन गरिने कार्यक्रम रहेको केसीले बताउनुभयो ।

पोल्ट्री दिवसमा कुखुराको अण्डा र मासुको महत्त्व तथा मानव स्वास्थ्यका लागि फाइदाको विषयमा सचेतना तथा अभिमुखीकरण गर्ने उद्देश्य सहित पोल्ट्री दिवस मनाइएको केसीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button