‘नेपाल र भारतबीचको सम्बन्ध अझै व्यापक र विस्तार हुनुपर्छ’
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसीहितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन–नेपालले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँदेखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहुआयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल र भारतको सम्बन्ध जनस्तरसम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो । उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दू विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मदन मोहन मालवीय एक असल शिक्षक, पत्रकार, कानून व्यवसायी, प्रखर वक्ता एवं वार्ताकार तथा राजनेताका रूपमा मित्रराष्ट्र भारतमा मात्रै नभई दक्षिण एसियामा नै चिरपरिचित हुनुहुन्थ्यो । उपराष्ट्रपति पुनले मालवीयले समाजका निर्धन, निमुखा र पिछडिएको तप्कालाई पुर्याउनुभएको सेवा, समर्पण अविस्मरणीय र प्रेरणादायी रहेको बताउँदै मालवीयले मानव स्वतन्त्रताका लागि दिएको योगदानको चर्चा गर्नुभयो ।
बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै स्वदेशको सेवा गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले सो विश्वविद्यालय नेपाल भारतबीच मित्रताको विम्ब र कडीका रूपमा स्थापित रहेको बताउनुभयो । उहाँले नेपालको सर्वाङ्गीण विकासमा वनारस हिन्दू विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
महामना मालवीय मिसन–नेपालका अध्यक्ष जीएम सरस्वतीले नेपालमा हिन्दू विश्वविद्यालय स्थापनाका निम्ति पहल गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार तथा समाजसेवी पुष्पप्रसाद लुइँटेल, ईश्वरचन्द्र शर्मा र श्यामप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्