नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौँ । नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक जारी रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।
बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गर्नुभएको थियो ।
राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२)बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
सत्तागठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्