तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कालपछि पहिलो पटक वीरगञ्जका होटल भरिभराउ

वीरगञ्ज । लामो समयदेखि कोरोनाका कारण धरासायी बनेको वीरगञ्जका होटल व्यवसाय नेपाल जेसिसको ४९ औँ महाधिवेशनसँगै भरिभराउ भएका छन् ।

महाधिवेशनमा सहभागी हुन देशका विभिन्न जिल्लाहरूबाट आएका प्रतिनिधि तथा प्रवेक्षकहरूका कारण होटलहरु भरिभराउ भएका हुन् । वीरगञ्जस्थित होटल भिष्वामा बिहीबारदेखि सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरी शनिवार सम्पन्न हुने कार्यक्रम रहेको छ ।

जेसिसले आफ्ना प्रतिनिधि लगायतका पदाधिकारीहरूलाई बस्नका लागि वीरगञ्जका विभिन्न होटलमा व्यवस्था मिलाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउनसँगै ओरालो लागेको होटल व्यवसाय अहिले चलायमान भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो । उहाँले एकैपटक धेरै पाहुनाले वीरगञ्जका होटलहरु भरिएको हुँदा होटल व्यवसायीमा खुसी छाएको बताउनुभयो ।

४९ औँ राष्ट्रिय महाधिवेशनका लागि वीरगञ्ज चयन गरेकामा होटल व्यवसायीहरूले नेपाल जेसिसलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै जेसिजका प्रतिनिधिहरुको स्वागतमा वीरगञ्जका प्रत्येक होटलहरुमा ब्यानर समेत झुण्डयाईएको अध्यक्ष पन्तले बताउनुभयो । उहाँले जेसिसको महाधिवेशनको कारण राहत भए पनि पुनः छिमेकी मुलुक भारत र चीनमा कोरोना संक्रमण बढ्दै गइरहेको हुँदा आफूहरू चिन्तित बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button