अछामका स्थानीय तहका ४० मुद्दा अख्तियारमा

अछाम । अछाम जिल्लाका दश स्थानीय तहका ४० मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्तामा रहेका पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको आयोजनामा अछामको चौरपाटी गाउँपालिकामा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा आयोगका इन्जिनियर पुष्पराज भट्टले अछामका ४० मुद्दा आयोगमा दर्ता भएको बताउनु भयो ।
तथ्याङ्क अनुसार २०७९ असार मसान्त अघिका ३२ र साउन देखि मङ्सिर सम्म ८ मुद्दा दर्ता भएको पाइएको छ। जसमा सबैभन्दा बढी वान्नीगढी जयगढ गाउँपालिकाका ६ र सबैभन्दा कम ढकारी गाउँपालिकामा १ योजना सम्बन्धी उजुरी दर्ता रहेको आयोगले जनाएको छ ।
यसैगरी मङ्गलसेन नगरपालिका, मेल्लेख गाउँपालिका, रामारोशन गाउँपालिका र तुर्माखाद गाउँपालिकाका नाममा ५र५, पञ्चदेवल विनायक नगरपालिकामा ४ र साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका र चौरपाटी गाउँपालिकाका ३र३ योजनाको नाममा उजुरी दर्ता भएको आयोगका इन्जिनियर भट्टले जानकारी दिनुभयो ।
अछामका १० स्थानीय तहका ४० योजनाको मुद्दा मध्ये हाल सम्म ४ वटा मुद्दा फर्छ्यौट भएकोमा अझै ३६ मुद्दा बाँकी रहेका छन् । अख्तियारमा प्रायः भौतिक तथा निर्माणका योजनामा मुद्दा रहेको आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका नापी अधिकृत इन्द्र बहादुर देउवाले भ्रष्टाचार नियन्त्रण तथा सचेतना जगाउन अख्तियारको टोली अछाम आएको भन्दै भ्रष्टाचार भएको देखिएमा तत्काल प्रतिकार गर्दै अख्तियारमा उजुरी गर्न अनुरोध गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्