तत्काल ब्याजदर नघटाए सरकार हस्तक्षेप गर्न बाध्य हुनेछ : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले बढ्दो ब्याजदर बैङ्क तथा वित्तीय संस्थाले सन्तुलनमा ल्याउन नसके सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । कोरोना महामारीले थला परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा बढाइएको ब्याजदरले थला पारेको बताउँदै उहाँले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्नुपर्ने अवस्था नल्याउन आग्रह गर्नुभयो ।
रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै खाणले उद्योगी व्यवसायीको अवस्था सुदृढ नभए सबै क्षेत्र प्रभावित हुने बताउँदै बैङ्क तथा वित्तीय संस्थाहरूलाई गम्भीर बन्न आग्रह गर्नुभएको हो । बैङ्कको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरू मारमा परेको बताउँदै उहाँले त्यसको केही समयपछि झन् ठूलो संकट वित्तीय क्षेत्रले भोग्नुपर्नेतर्फ सचेत गराउनुभयो ।
पछिल्लो पटक देखिएको आर्थिक मन्दीमा बैङ्क तथा वित्तीय संस्थाहरू अझ बढी गम्भीर र संवेदनशील बन्नुपर्ने बताउँदै उहाँले उद्योगी र व्यवसायीहरूले ऋण र व्याज तिर्न नसक्ने अवस्था आयो भने त्यसको गम्भीर असर बैङ्क तथा वित्तीय संस्थाहरूलाई पर्नेतर्फ सचेत गराउनुभएको छ ।
समस्या समाधानका लागि साझा अवधारणाका साथ अघि बढ्नुपर्ने र सरकारले त्यसमा साथ दिने बताउँदै गृहमन्त्री खाणले उद्योगी व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्ने सबैको साझा दायित्व भएको बताउनुभयो । ‘नेपालको आर्थिक गतिलाई गतिशीलता प्रदान गर्ने, सम्पूर्ण शक्तिलाई नेपालको आर्थिक गतिलाई नै केन्द्रीकृत गर्नेमा केन्द्रित रहने छ, सरकारले समन्वय गरेर अगाडि बढ्ने छ’– खाणले भन्नुभयो ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले ०४५ सालमा नेपालमा पहिलो पटक सङ्घले सुरुवात गरेको औद्योगिक प्रदर्शनी पहिलो पटक स्थायी संरचनामा सङ्घले नै सुरुवात गर्न लागेको बताउनुभयो ।
उद्योग सङ्घले आयोजना गरेको प्रदर्शनीमा ४ सय ५० स्टल सहभागी रहेका छन् । पुस १७ गतेसम्म चल्ने प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा रहेको अध्यक्ष माधवकुमार पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्