तपाईँ सुन्दै हुनुहुन्छः

अपराध रोक्न स्थानीय तहसँग साझेदारी गर्ने प्रजिअ शर्माको घोषणा

भक्तपुर । मानव अधिकार र आपराधिक घटना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ ।

भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताउनुभएको हो ।

उहाँले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औँल्याउँदै चिनेजानेकोबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताउनुभयो । बहुविवाह र बालविवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहले महिला, बालबालिका लगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समुचित रूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय तहमा जानुपर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

जिल्लाका चारवटै नगरपालिकामा अपराधका घटना रोक्नदेखि प्रशासनका सेवा लिन समेत सहज गर्ने गरी कार्य गरेका छौँ भन्दै प्रजिअ शर्माले यसबारेमा निर्वाचन अगाडि जिल्लाका दुई नगरपालिकासँग छलफल भइसकेको र अब बाँकी नगरपालिकासँग छलफल गर्ने बताउनुभयो ।

स्थानीय तहसँग लैङ्गिक हिंसा रोकथाम कोष रहेको बताउँदै उहाँले अपराध रोकथाम, हिंसा न्यूनीकरण, उद्धार र पुनः स्थापना केन्द्र सञ्चालन गर्ने लगायतका कार्य अगाडि बढाउँदै गाउँगाउँमा चेतना अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button