तातोपानी नाका पूर्ण रूपमा खुलाउन म लागिपरेको छु : अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चीनसँगको व्यापारिक तातोपानी नाका पूर्ण रूपमा खुलाउने काम प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्वको टोलीबाट आज खुमलटारमा नाका खुलाउने सन्दर्भमा ज्ञापनपत्र बुझेपछि प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताउनुभयो ।
दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उहाँले तातोपानी नेपालीहरूको व्यवसाय र नेपालको व्यापारिक दृष्टिबाट महत्वपर्ण रहेको स्पष्ट पार्नुभयो ।
चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताउनुभयो ।

चिनियाँ राजदूति हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाइ थियो । भूकम्प पछि पुनर्निर्माण भइसकेको र ड्राइपर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो सुचारु गर्नु पर्नेमा जोड दिँदै उहाँले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने बताउनुभयो ।
जुरे पहिरो, भूपम्प वा अन्य सन्दर्भमा आफूले सिन्धुपाल्चोकसँग जोडिन पाएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढी संवदनशील रहेको र समस्या समाधान गर्ने बताउनुभयो ।
‘म बेइजिङमा पनि कुरा गर्छु, नयाँ राजदूत आएपछि पनि कुरा गर्छु, सबै खालका रेस्ट्रिक्सन हटाइदिन पर्याे भन्छु’, उहाँले भन्नुभयो ।
ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले नेपाल– चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रूपमा सञ्चालन र अरनिको राजमार्गको स्तोरोन्नतिका लागि अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्