तपाईँ सुन्दै हुनुहुन्छः

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई नगरको पत्र

सिन्धुपाल्चोक । निमार्णको जिम्मा लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई मेलम्ची नगरपालिकाले पत्र लेख्दै सचेत गराएको छ । 

निर्माण व्यवसायीहरूलाई निर्माण कार्य समयमा सम्पन्न गर्न सूचना जारी गरेको हो । 

नगरपालिकाको कार्यालयसँग विभिन्न मितिमा सम्झौता गरी निर्माणाधीन विभिन्न ७ योजनाका निर्माण व्यवसायी कम्पनीहरूको निर्माण कार्यप्रगति सन्तोषजनक नरहेको र उक्त निर्माण व्यवसायी कम्पनीहरूलाई पटक पटक नगरपालिकाले ताकेता पत्र लेख्दा समेत बेवास्ता गर्दै आएको नगरले जनाएको छ । 

नगरपालिकाको नगर कार्यपालिकाको मङ्सिर १४ गतेको निर्णयअनुसार मेलम्ची नगरपालिकासँग गरेको खरिद सम्झौता बमोजिम समयमा नै कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय भएको योजना शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो । 

कार्य सम्झौता अनुसार कार्यान्वयनको लागि सार्वजनिक सूचना प्रकाशित गरिएको र उनीहरूलाई समयमै सम्पन्न गर्न भनिएको केसीले बताउनुभयो । 

तोकिएको समयावधि भित्रमा कार्य सम्पन्न नभएमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ एवं खरिद सम्झौतामा उल्लेख भएको प्रावधान बमोजिम कारबाही प्रक्रिया अघि बढाइने ब्यहोरा सूचनामा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सबै स्थानीय तहमा दुई वर्षभित्र १५ शय्यासम्मका अस्पताल स्थापना गर्ने उद्देश्यले सरकारले २०७७ मंसिरमा तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो । तीन सय नौ स्थानमा १५ मंसिरमा एकै दिन शिलान्यास गरिएको थियो ।

सोही अनुसार मेलम्ची नगर अस्पताल निर्माणका लागि तत्कालीन मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले शिलान्यास गरेको अस्पतालको निमार्ण कार्यले गति नलिँदा स्थानीय चिन्तित मात्रै छैनन्, ठेकेदारको कामप्रति असन्तुष्टि जनाएका छन् । 

१५ शय्या रहने अस्पताल भवन १८ करोड लागतमा २ वर्ष भित्र बन्ने बताइए पनि आजसम्म पनि निर्माणकै चरणमा रहेकाले समयमै काम सम्पन्न नहुने देखिन्छ । समयमै काम नभएको प्रति सेवा ग्राही मेलम्ची ९ का रामबहादुर तामाङले गुनासो गर्नुभयो । 

गाउँमै सुविधा सम्पन्न अस्पताल बन्छ भनेर खुशी भएका थियौँ तर अहिलेसम्म पनि आधा पनि काम सम्पन्न नभएकामा उहाँले गुनासो गर्नुभयो । चाँडै सेवा पाइएला भन्ने आशा रहेको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले ठेक्का लिँदा तोकिएको समयमै निर्माण कार्य पुरा गर्ने भनी सम्झौता गरेपनि एउटै कम्पनीले चौतर्फी निर्माण कार्यमा हात हालेका कारण यस्तो अवस्था भएको हो । 

मेलम्ची नगरपालिकाले पनि समयमै अस्पताल निमार्ण नहुने भएपछि ताकेता गर्न सुरु गरेको छ । 

नगर प्रमुख आइतमान तामाङले निर्वाचित भएलगत्तै निरीक्षण गर्दै तत्काल तीव्र गतिमा काम गर्न निर्देशन दिए पनि निमार्णको कामले गति नलिँदा अन्योल देखिएको हो । 

भवन निमार्णको ठेक्का लिएको सुर्यचन्द्र प्रेरा जेभिले तीव्र गतिमा काम नगर्दा आउँदो चैत्र १८गते निमार्ण सम्पन्न गर्ने गरि गरिएको सम्झौता कार्यान्वयन नहुने देखिएको हो । 

ठेकेदार जर्नादन ढकालले भने जग्गाको कारण केही काम ढिला हुन गए पनि अब तीव्र गतिमा काम हुने बताउनुभयो । 

नगरपालिकाले काटेको पत्रको जवाफ निमार्ण कम्पनी पेश गरिसकेको अब कामले गति लिने उहाँले जानकारी दिनुभयो । 

वडा कार्यालयको भवन पनि अलपत्र नगरपालिका अन्तर्गत वडा नम्बर  ८, १०, १३ नम्बर वडा कार्यालय निर्माणमा ढिलासुस्ती भएको भन्दै निमार्ण कम्पनी र ठेकेदारलाई नगरपालिकाले जरिवाना गरेको छ । 

नगरपालिकाले सोराज कन्सट्रक्सन र धुलिखेल निमार्ण सेवालाई खरिद ऐनको प्रावधान अनुसार जरिवाना गरिएको  र पुस मसान्तभित्र काम नसकेमा कम्पनीलाई कालो सूचिमा राखिने नगरपालिकाले जनाएको छ । 

अहिले नगरले जरिवाना गराएर काममा लगाएको हो । समयमै  निमार्ण सम्पन्न नगरेको भन्दै कम्पनी र ठेकेदारलाई कारबाहीको दायरामा ल्याइएको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button