तिनाउ सिग्नेचर ब्रीज र मोतीपूर औद्योगिक क्षेत्रलाई अगाडि बढाउन आग्रह

रुपन्देही । बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रीजका बारेमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ ।
तिनाउ नदीमा बन्ने पुलको डिजाइन तयार भइसकेपछि बुटवलमा पुल निर्माणका सजिला र अप्ठ्याराका बारेमा बुटवलका नगरप्रमुख खेलराज पाण्डेयसँग छलफल भएको हो ।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले लाभ लिने गरी पुल निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
“बुटवलमा बन्ने यो पुलले बुटवललाई हरेक दृष्टिबाट लाभ हुन्छ, यो पुल निर्माणको काम छिटो अघि बढाउनुपर्छ ।”, उहाँले छलफलका क्रममा भन्नुभयो, “त्यसका लागि बुटवल उपमहानगरपालिकाले कस्तो खालको सहयोग गर्नुपर्छ त्यसमा हामी तयार छौँ ।”

सडक विभागका उप महानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर नयाँ पुल बन्ने भएकाले बुटवल उपमहानगरपालिकाको स्वीकृति र सहकार्य विना पुल बन्न नसक्ने बताउनुभयो ।
उहाँले पुल निर्माणसँगै बुटवलदेखि कपिलवस्तुको गोरुसिंंगेसम्मको सडक समेत विस्तार गरिने भएकाले बुटवल क्षेत्रभित्र बुटवल उपमहानगरपालिकाको सहयोग जरुरी रहेको बताउनुभयो ।
छलफलका क्रममा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ डा. हिशाम एम फाउडले बुटवलमा पुल निर्माणका क्रममा बुटवल उपमहानगरपालिकाको साथ जरुरी रहेको बताउनुभयो ।
उहाँले स्थानीयलाई पुल निर्माणपछिका फाइदा र आवश्यक सहकार्यमा बुझाउँदै विश्व बैङ्क, सडक विभाग र निर्माण पक्षलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
यसैगरी नगर प्रमुख पाण्डेयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई भेटेर मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह गर्नुभएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँगको भेटमा प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउनका लागि आग्रह गर्नुभयो ।
उहाँले ड्रोनबाट नापजाँच सकिए पछिको प्रतिवेदन छिटै सम्बन्धित पालिकाहरूमा पठाइदिन आग्रह गर्नुभयो ।
“हामीले औद्योगिक क्षेत्रको जग्गा नापजाँच तथा सहजीकरणका लागि बनाएको कार्यदलले आफ्नो काम पूरा गरिसकेको छ”, नगरप्रमुख पाण्डेयले भन्नुभयो, “अब औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नाप जाँचपछिको प्रतिवेदन सम्बन्धित पालिकामा पठाएपछि पालिकाहरूले प्रतिवेदनलाई पास गरेर औद्योगिक क्षेत्र बनाउन योग्य क्षेत्र यकिन हुनेछ र जग्गा यकिन भएपछि बाँकी काम अघि बढ्नेछ ।”
नगरप्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाको जग्गा औद्योगिक क्षेत्रअन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाभित्रको जग्गा घटाउनुपर्ने वा बढाउनुपर्ने भएमा पालिकाले निर्णय गरेर संघीय सरकारलाई पठाउने र सोहीअनुसारको जग्गा औद्योगिक क्षेत्रका लागि उपयोग हुने गरी निर्णय हुने बताउनुभयो ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि बुटवल उपमहानगरपालिकाको अगुवाइ तथा संयोजनमा गत भदौ १० गते जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो ।
लामो समय बसोबास गरेका र लालपूर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि छ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो ।
पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्