तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

काँग्रेस महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै सभापति देउवा दलको नेतामा निर्वाचित हुनुभएको हो ।

देउवाले ६४ मत पाउनुहुँदा थापाले २५ मत पाउनुभएको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिनुभयो ।

संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभामा निर्वाचित ८९ जना सांसदहरुले मतदान गरेका थिए । 

निर्वाचनको मत परिणाम घोषणापछि महामन्त्री थापाले आफ्नो उम्मेदवारी परिवर्तनका निम्ति रहेको भन्नुहुँदै परिणाम अपेक्षाकृत नभए पनि संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताउनुभयो । 

सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको थियो । 

यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button