तपाईँ सुन्दै हुनुहुन्छः

झापामा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

भद्रपुर, झापा । झापाको अर्जुनधारा ११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बूले श्रीमती सन्जु इङ्नाम लिम्बूको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

झापाको मेचीनगर १३ स्थित चारआली जङ्गलमा अर्जुनधारा ११ मूल घर भएका ५२ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षीया सन्जु इङ्नाम लिम्बूको कुहिन लागेको शव सोमवार दिउँसो भेटिएको थियो ।

प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रक्सी फेला पारेको छ । सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताउनु भयो । तर, सञ्जुको घाँटीमा डोरी नभेटिनुले श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने पाठकले आशंका गर्नुभएको छ । 

इङ्नाम दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । इङ्नाम दम्पती मेचीनगर –१२ मा डेरा बस्दै आएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले बताउनु भयो । उनीहरू गत मङ्सिर २१ गतेबाट परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । सन्जुको टाउकोमा हतियारको चोटजस्तो देखिएको तर शव कुहिसकेकाले स्पष्ट ठम्याउन नसकिएको डिएसपी पाठकले बताउनु भयो ।

दुवै शवको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि हिजै साँझ ७ बजे धरान घोपा पठाइएको डिएसपी पाठकले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button