तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा एक दिने सङ्गोष्ठीको आयोजना

जनकपुरधाम । मिथिला क्षेत्रका प्रसिद्ध लोकनृत्य जट जटिन नृत्यको विषयमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागले जनकपुरधाममा आज एक दिने सङ्गोष्ठीको आयोजना गरेको छ ।

कार्यक्रममा सहभागीहरूले जटजटिन नृत्यका विषयमा प्रकाश पार्नुका साथै यससँग जोडिएका सामाजिक तथा सांस्कृतिक विषय वस्तुका विषयमा प्रकाश गर्दै मिथिलाले अहिले पनि यसलाई संरक्षण गरेर राखेको बताउनुभयो ।

मधेश प्रदेश सरकारले गठन गरेको मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापडीले जटजटिन नृत्य मिथिलाको प्राचीन नृत्य भएको बताउँदै यस नृत्यले दिएको सन्देशका विषयमा प्रकाश पार्दै यसको संरक्षणमा कलाकारहरूले गरेको कामको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा साहित्यकार रोशन जनकपुरीले जटजटिन नृत्यका विषयमा ३३ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै लोक नृत्यको परम्परा तथा यसको प्रयोगको विषयमा गहन अनुसन्धान मूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको कार्यपत्रमाथि साहित्यका तथा त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक श्याम सुन्दर शशीले टिप्पणी गरेका थिए ।

अध्यक्षको आसनबाट बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य नमूना शर्माले मिथिला क्षेत्रको इतिहास, लोक संस्कृति, परम्परा तथा नृत्य निक्कै प्राचीन रहेको बताउँदै यसको संरक्षणमा प्रतिष्ठानले सहयोग गर्न तयार भएको बताउनुभयो ।

कार्यक्रममा जटजटिन मैथिली गीतका गीतकार सुनिल मल्लिक, सङ्गीतकार अशोक दत्त, हिमांशु चौधरी, सुजित झा तथा कवि काशीकान्त झा सहितका साहित्यकार, कलाकार, नर्तक, नताङ्गना सहितका व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रमको संयोजन गायक नवीन मिश्रले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button