तपाईँ सुन्दै हुनुहुन्छः

बस्तीमाथिको हाइटेन्सन तार हटाउन प्राधिकरणसँग माग

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका क्षेत्रमा बस्तीमाथि रहेको विद्युतको हाइटेन्सन हटाउन माग गरिएको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले नेपाल विद्युत् प्राधिकरणमा पुगेर नगरभित्रको बस्तीमाथि रहेको विद्युत् हाइटेन्सन तार व्यवस्थापन गर्न माग गर्नुभएको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेटघाट गर्दै प्रमुख पाण्डेयले बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्तीबाहिर सार्न आग्रह गर्नुभयो ।

नगर प्रमुख पाण्डेयले बुटवलमा शहरीकरण बढ्दै गएकोले खुला विद्युत् तारहरूका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराउनुभयो ।

भेटमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्तीमाथिको हाइटेन्सन तार हटाउन प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले पाल्पामा सब स्टेशन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारको लागि काम अघि बढाउनका लागि योजना ल्याउने विश्वास दिलाउनुभएको थियो ।

यसैगरी प्रमुख पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीव्रता दिन सडक विभागको पनि ध्यानाकर्षण गराउनुभएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौँस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोल पार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख पाण्डेयले योगीकुटीदेखि चिडिया खोलासम्म आठ वटा स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट राख्नुपर्ने भएकाले त्यसमा सहयोग र सहजीकरण गर्न विभागका महानिर्देशक थापालाई आग्रह गर्नुभयो ।

भेटमा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button