तपाईँ सुन्दै हुनुहुन्छः

शपथ ग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्नु उचित: माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारी बैठकले सांसदहरूको शपथ ग्रहणपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउन उचित हुने निष्कर्ष निकालेको छ ।

file photo

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सांसदहरूको शपथ ग्रहणपछि मात्रै गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडफाँड तथा सरकारको गठनका विषयमा छलफल गर्नु उचित हुने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

नेता शर्माले पदाधिकारी बैठकले माओवादी केन्द्रका तर्फबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिनुका साथै नयाँ सरकार गठन लगायतका विषयमा अनौपचारिक छलफल भएको बताउनुभयो ।

नेता शर्माले माओवादी केन्द्रको समेत सरकारको नेतृत्वमा दाबी रहेको भए पनि गठबन्धनमा रहेका दलहरू बीचको छलफलबाट नै संघ र प्रदेश सरकारको नेतृत्व तथा सिट बाँडफाँडको विषय टुङ्गो लाग्ने विश्वास लिइएको बताउनुभयो ।

त्यसअघि संक्षिप्त कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा सबै सदस्यको शपथ ग्रहण गराइसकेपछि मात्रै सबै पार्टीका संसदीय दलको गठन गर्ने र सरकार गठनको प्रक्रिया सुरु गर्नु उचित हुने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button