सल्यानमा पुस १३ गतेदेखि महोत्सव सञ्चालन हुने
सल्यान । सल्यानमा स्थानीय उत्पादनको बजारीकरणको लागि दश दिने महोत्सव सञ्चालन गरिने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा सल्यानको आयोजनामा यही पुस १३ गतेदेखि २३ गतेसम्म बृहत् सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिने भएको हो ।

‘उद्योग गरौँ, उद्यमी बनौँ, देश विकासमा टेवा पुर्याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको लागि आवश्यक तयारी थालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले जानकारी दिनुभयो । श्रीनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरी महोत्सव सञ्चालनको तयारी गरिएको बताउनुभयो ।
महोत्सवमा दुई सयदेखि दुई सय ५० सम्म स्टल रहने छन् । महोत्सवमा कर्णाली प्रदेशका दश वटै जिल्लाको लघु घरेलु, कृषि, पशु, पर्यटनसँग सम्बन्धित उत्पादन राखिने छ ।
‘लघु घरेलु उद्योग अन्तर्गतका उत्पादनलाई स्टलमा राख्ने छौँ, यसले यहाँको स्थानीय उत्पादनलाई प्रोत्साहन, व्यवस्थापन, बजारीकरण लगायतका कार्यमा सहयोग गर्ने अपेक्षा गरेका छौँ’ उहाँले भन्नुभयो ‘सल्यानको सुन्तलादेखि महसम्म, खुकुरीदेखि अचारसम्म स्थानीय उत्पादनलाई बजारीकरण गर्नु नै हाम्रो लक्ष्य हो ।’
महोत्सवमा दैनिक १० लाख बढीको प्रत्यक्ष र ५ लाख बढीको अप्रत्यक्ष रुपमा कारोबार हुने आयोजकको भनाइ छ । महोत्सव अवधिभर एक करोड ५० लाख बढीको कारोबार हुने जनाइएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ भने बाल उद्यान, पिङ आदि रहने छन् । करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्