तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको पहिलो बैठक पुरानै भवनमा बस्ने पक्का

संसद् बैठकका लागि आवश्यक पूर्व तयारी गर्दै संसद् सचिवालय

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको तयारी अघि बढाएको छ । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण लगत्तै संसद् सचिवालयले विशेष समारोह आयोजना गरी प्रतिनिधिसभाका सबै सदस्यहरूको शपथ ग्रहण गराउने लगायतको तयारी गरिरहेको हो ।

प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको तयारी सँगसँगै संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकका लागि आवश्यक पूर्व तयारी समेत गरिरहेको छ ।

सचिवालयले राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय, प्रतिनिधिसभा बैठकका लागि बैठक कक्षको सरसफाइ, साजसज्जा, फर्निचर व्यवस्थापन र आवश्यक विद्युतीय उपकरणको व्यवस्थापन गरिरहेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे जानकारी दिनुभयो । 

प्रतिनिधिसभाको पहिलो बैठक र संसद् अधिवेशनहरू नयाँ बानेश्वरस्थित भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा नै बस्ने पक्का भएको छ । 

सिंहदरबार परिसरमा संघीय संसद्को नयाँ भवनको निर्माण सम्पन्न नभएकोले सम्मेलन केन्द्रको भवनमा बैठक बस्ने गरी आवश्यक तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । 

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सिंहदरबार परिसरमा बन्दै गरेको भवनको ७२ प्रतिशत काम मात्र सम्पन्न भएको छ । निर्माणको अवस्था हेर्दा संरचना निर्माणसँगै त्यसका आवश्यक अन्य तयारी पूरा गर्न अझै दुईदेखि तीन बर्ष लाग्ने अनुमान गर्न सकिने सचिवालयका प्रवक्ता डा. पाण्डेको भनाई छ ।

प्रतिनिधिसभाको पहिलो बैठक आव्हान भएपछि संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ  र, सो बैठकले सभाको अन्तरिम कार्यविधि बनाउने वा नियमावली निर्माणको प्रक्रिया अगाडि बढाउनेछ । त्यसपछि सभाले १५ दिनभित्र सभामुखको निर्वाचन गर्नेछ । सभामुख चयन भएपछि मात्र संसद्ले आफ्नो नियमित बिजनेस सुरु गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button