शिक्षक सङ्घ-संगठनहरुले शिक्षकका मागहरूलाई बुलन्द रुपमा उठाउने
काठमाडौँ । अन्तर्राष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशलनसँग आबद्ध नेपालका तीन शिक्षक सङ्घ-सङ्गठनले ट्रेड युनियन र शैक्षिक अधिकारलाई सँगसँगै उठाउने जनाएका छन् ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियनले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रममा सङ्घ-सङ्गठनका नेताहरूले शिक्षा सुधारसँगै शिक्षाकर्मीका अधिकारलाई पनि बुलन्द ढंगले उठाउने जनाएका हुन् ।
एजुकेशन इन्टरनेशलनसँग आबद्ध तीनवटै शिक्षक सङ्घ-सङ्गठनले संयुक्त रुपमा सरकारसँग आठ बुँदै माग पूरा गराउन नयाँ रणनीतिका साथ अघि बढ्ने जनाएको छ ।
नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले अनिवार्य र गुणस्तरीय शिक्षासँगै शिक्षाकर्मीहरूको अधिकारलाई सुरक्षित गर्न शिक्षक नेतृत्व नयाँ रणनीतिका साथ अघि बढ्ने बताउनुभयो । उहाँले शिक्षालाई राज्यले प्राथमिकतामा राख्न नसकेका कारण समय सापेक्ष शिक्षा ऐन जारी हुन समेत नसकिरहेको बताउनुभयो ।

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले शिक्षकप्रति सरकारको दृष्टिकोण स्पष्ट हुन नसक्दा शिक्षक अपहेलित हुनु परिरहेको बताउनुभयो । उहाँले संविधान अनुसार शिक्षा ऐन जारी हुन नसकेको र स्थानीय तहले आफ्नै ढङ्गबाट शिक्षा ऐन ल्याएका कारण एकरूपता हुन नसकेको र शिक्षक समस्या झनै बढ्दै गएको धारणा राख्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कहीँ कतै राम्रा अभ्यास भए पनि धेरैजसो स्थानीय तहमा शिक्षकहरूलाई दुख दिने काम भएको गुनासो गर्नुभयो । उहाँले शिक्षामा सुधार गर्न शिक्षकलाई उत्प्रेरणा दिनुपर्नेमा उल्टै दुख दिने काम भइरहेको बताउनुभयो ।
एजुकेशन इन्टरनेशलन एसिया प्यासिफिक क्षेत्रका प्रमुख संयोजक आनन्द सिंहले राम्रो शिक्षाका लागि राम्रो शिक्षक आवश्यक पर्ने भएकाले राज्यले शिक्षकलाई महत्त्व दिनुपर्ने बताउनुभयो । उहाँले नेपालको शिक्षामा सुधार ल्याउन अहिलेको शिक्षा प्रणालीमा नै सुधार गर्नुपर्ने बताउनुभयो ।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियनले संयुक्त रुपमा शिक्षामा लगानी बढाउनुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षकलाई तालिम, श्रम अधिकार र सभ्य कामको अवस्थाको ग्यारेन्टी गर्नुपर्ने लगायत विभिन्न ८ वटा माग राख्दै आएका छन् ।







प्रतिक्रिया राख्नुहोस्