तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बुद्धशान्तिमा किसान सूचीकरण गरिँदै

भद्रपुर, झापा I झापाको बुद्धशान्ति गाउँपालिकाले किसान सूचीकरण गर्न थालेको छ ।

असङ्गठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेबसाइटमा राख्न र उनीहरूको पहिचानको परिचयपत्र वितरणको लागि गाउँपालिकाले किसान सूचीकरण गर्ने कार्य शुरु गरेको हो ।

७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा १ नम्बर वडामा यसअघि नै सूचीकरण गरिसकेकाले अब बाँकी ६ वटा वडामा सूचीकरणका लागि कर्मचारी परिचालन गरिएको गाउँपालिका कृषि विकास शाखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।

१ नम्बर वडामा १ हजार ८२१ जना किसान परिवार यसअघि नै सूचीकृत भएको र अब अरु वडामा गरी बुद्धशान्ति गाउँपालिकाभरिका १२ हजार किसान परिवार सूचीकृत गरिने गाउँपालिका कृषि विकास शाखाका कृषि प्राविधिक कृष्ण ढुङ्गेल बताउनु हुन्छ । करिब ५ महिनाभित्र तथ्याङ्क सङ्कलन गरिसक्न उहाँको भनाइ छ ।

किसानको सूचीकरण गरिसकेपछि वर्गीकरण गरी किसानलाई परिचयपत्र वितरण गरिने छ । किसानको सूचीकरणमार्फत किसानको व्यक्तिगत विवरणदेखि जग्गा, खेतीबाली, पशुपालन, मत्स्यपालनका साथै आधारभूत विवरण, पारिवारिक विवरण, खेतबारीको विवरण, जमिन करारमा लिए–दिएको विवरण, कृषि–व्यवसाय दर्तासँग सम्बन्धित विवरण, आय र खर्चको विवरण सङ्कलन गरिनेछ ।

किसान सूचीकरणले वास्तविक किसानको पहिचान हुने र सरकारमार्फत सञ्चालन हुने किसानलक्षित कार्यक्रमहरू वास्तविक किसानसम्म पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button