वीरगन्ज महानगरले हटायो दैनिक ज्यालादारीका झण्डै ४ सय कर्मचारी
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत झण्डै ४ सय कर्मचारीहरूलाई जागिरबाट हटाएको छ ।

वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगरपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई आज पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएको जनाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा वीरगञ्ज महानगरपालिकाको मङ्सिर २६ गते सम्पन्न कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार महानगरपालिकाको कार्यालय, यस मातहतका सबै कार्यालय, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई पुस १ गतेबाट लागू हुने गरि ज्यालादारी सेवाबाट हटाइएको उल्लेख छ ।
सूचनामा वारुणयन्त्र शाखा र नगर प्रहरी तर्फका दैनिक ज्यालादारीलाई भने नहटाइएको जनाइएको छ ।
गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा झण्डै ४ सय ५० जनाभन्दा बढी कर्मचारी नियुक्त गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्