सडकमा भइरहेको जथाभाबी पार्किङ हटाउन महानगरपालिकाको निर्देशन

वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभाबी पार्किङ हटाउन निर्देशन गरेको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान उक्त सडक खण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन निर्देशन दिइएको हो ।
सडकमा जथाभाबी पार्किङ गर्ने र निर्माण सामग्री राख्दा आवतजावतमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको महानगरपालिकाले जनाएको छ ।
सहायक बाइपाससँगै बाइपास सडक खण्डमा अहिले ठूला सवारी साधन बस, ट्रक जस्ता सवारी जथाभाबी पार्किङ गर्ने गरेको भेटिने गरेको छ ।
यस्तै मेयर सिंहसहितको टोलीले वडा नम्बर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभाबी फोहोर नफाल्न व्यवसायीहरूलाई आग्रह गरेको छ ।
फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार सञ्चालन गर्न सचेत गराइएको महानगर पालिकाका प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिनुभयो ।
टोलीले वडा नम्बर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ ।
भेटका क्रममा प्रमुख सिंहले वीरगञ्जको विकासका लागि आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध समेत गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्